काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो ।
गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि आग्रह गरे । ‘म यति दिन भन्दिनँ तर केही दिनभित्र एकता गर्छु, तपाईं चिक्त बुझ्ने गरी नै एकता गर्छु,’ उनले भने, ‘एमालेपछि अन्य पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने तपाईंको कुरा हो ।’
उनले अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै कसैले कसलाई सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नहुने जिकिर गरे । ‘अध्यक्ष भएपछि कसैको पक्ष विपक्षीमा हुनुहुँदैन । मैले पटक पटक भन्दै आएको अहिले पनि यही भन्छु,’ गौतमले भने ।
गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने बताएका छन् । गौतमले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्याउँदै भने, ‘पार्टी एकता आजको मुख्य आवश्यकता हो ।
यसअघि, दुवै पक्षलाई आरोप–प्रत्यारोप फिर्ता लिन आफूले आग्रह गरेको बताउँदै गौतमले पुस ५ गते संसद् विघटन भएपछि आफू विघटनको पक्षमा नलागेको स्पष्ट पारे ।
बैठकमा गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरेर पार्टी एकतामा लाग्न पानि आग्रह गरेका छन् । मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने कार्यकर्ता पंक्ति भड्किने बताए ।
एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिदै उनले भने ,’एकलालाई सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं ।’ पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए ।


विश्व खबर 




















