काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा उपाध्यक्ष गौतम बैठकमा सहभागी भएका छन् भने माधव नेपाल समुहले बहिष्कार गरेको छ । उपाध्यक्ष गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन संवाद गरी बैठकमा आउन आग्रह गरेपनि माधव नेपाल समूहले सहभागी नहुने निर्णय गरिसकेको थियो ।
नेता नेपाल देउवा प्रचण्डलाई धोका नदिने भन्दै सर्वोच्चको फैसलाअघि एमाले बैठकमा नआउने अडानमा छन् ।
एमालेले आजको केन्द्रीय कमिटी बैठकमा एमालेका सवै नेताहरुलाई पदीय हैसियत तोकेरै निमन्त्रणा गरेको छ । सामुहिक एसएमएस मात्र गरेर बैठकमा निमन्त्रणा गर्ने गरिएको थियो ।
माधव नेपाल पक्षका नेताहरुले आफूहरुलाई पठाएको एसएमएसमा पदीय हैसियत नखुलाएको भनेर असन्तुष्टी व्यक्त गरेपछि राती नौ बजे पत्र बनाएर पठाइएको छ ।
पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार पार्टीका स्थायी समिती सदस्यसम्मलाई पदीय हैसियत खुलाएर पत्र पठाइएको छ । ‘ प्रधानमन्त्रीज्यूको निर्देशनपछि सबै पदाधिकारी र स्थायी समिती सदस्यलाई सम्बोधन गरेर इमेल,भाइबर र मेसेन्जरमा पत्र पठाएको छु,’ तामाङले भने ।
माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।


विश्व खबर 




















