संसद विघटनको मुद्दा: सरकार पक्षको बहस आज सकिँदै, समय डेढ घण्टा

संसद विघटनको मुद्दा:  सरकार पक्षको बहस आज सकिँदै, समय डेढ घण्टा

विश्व खबर

@BishwoKhabar

२०७८ असार १८ गते शुक्रबार १०:२६

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा राष्ट्रपति र प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको वहस आज  सकिँदै छ । महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् । उनीहरूले आज डेढ घण्टा...

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा राष्ट्रपति र प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको वहस आज  सकिँदै छ । महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् ।

उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिने छ । त्यसपछि सभामुखका तर्फबाट बहस शुरु हुने जनाइएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा छन् । उनीहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ ।

वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका लागि १० मिनेटका दरले बहस गर्न समय तोकिएको छ । त्यसपछि अधिवक्ताहरु भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोख्रेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले क्रमशः ७ मिनेटका दरले बहस गर्नेछन् । यसअघि १० जनाले बहस गरिसकेका छन् ।

उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुका लागि एक घण्टा समय छुट्याइएको भए पनि केही समय थप गर्ने इजलासको तयारी छ । त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन् । जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ ।

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन् । अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाइ भइरहेको हो । मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास छ ।

प्रकाशित मिति २०७८ असार १८ गते शुक्रबार १०:२६
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia