images
images
  • तनहुँमा पहिरोले दुई जनाको मृत्यु, पक्की पुल बाढीले बगायो

    काठमाडौं । लागातारको भारी वर्षापछि तनहुँमा बाढीपहिरोले क्षति गरेको छ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

    पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए ।

    सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।

    पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए ।

    घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिए ।

    रातभर परेको अविरल वर्षाले व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images