images
images
  • ईसेवाबाट १ करोड रुपैयाँ चोरीको आरोपमा अनामनगरबाट समातिए कञ्चनपुरका राहुल बुढा

    काठमाडौं-अनलाइन भुक्तानी प्रणाली ई-सेवाबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढा हुन्, जो हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका थिए।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार कालिमाटीबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार आरोपी बुढाले ‘फिसिङ’ प्रविधिको प्रयोग गरी ४ हजारभन्दा बढी व्यक्तिको ई-सेवा खाताबाट करिब १ करोड २ लाख रुपैयाँ चोरी गरेका छन्।

    फिसिङ लिंकमार्फत पहुँच
    प्रहरीका अनुसार बुढाले “द अलर्ट”, “एटी अलर्ट” जस्ता नक्कली फिसिङ लिंकहरू मोबाइल एसएमएसमार्फत पठाउने गर्थे। ती लिंकहरूमा “तपाईंको खाता सस्पेन्ड हुन लागेको छ, भेरिफाइ गर्नुस्” भन्ने चेतावनी दिइन्थ्यो। प्रयोगकर्ताले उक्त लिंक खोलेपछि आफ्नो ई(सेवा खातामा पहुँच दिन्थे, जसपछि रकम निकालिने गरिन्थ्यो। “लिंक खोल्नेबित्तिकै प्रयोगकर्ताको खाता विवरण बुढासम्म पुग्थ्यो र उनले त्यही विवरण प्रयोग गरेर रकम चोरी गर्थे,” एसपी जिसीले जानकारी दिए।

    मर्चेन्ट खातामा रकम ट्रान्सफर
    चोरी भएको रकम बुढाले ‘पशुपति ग्लोबल इनोभेशन प्रालि’ नामक कम्पनीका मर्चेन्ट खातामा जम्मा गरेको पाइएको छ। प्रहरी स्रोतका अनुसार ती खाताहरू पनि उनी आफैंले खोलेको वा नियन्त्रणमा लिएको आशंका छ।प्रहरीले अहिले उक्त कम्पनीको विवरण, खाताको स्वामित्व र संलग्न अरू सम्भावित व्यक्तिहरूबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

    सावधानीको आग्रह
    प्रहरीले यस्ता डिजिटल ठगीबाट बच्न प्रयोगकर्तालाई अनधिकृत लिङ्क नखोल्न, व्यक्तिगत विवरण कसैलाई नदिन र अनलाइन भुक्तानीका लागि सधैं आधिकारिक एप वा वेबसाइट मात्र प्रयोग गर्न आग्रह गरेको छ। डिजिटल भुक्तानी सेवा बढ्दै गएसँगै यस्ता साइबर अपराध पनि बढिरहेका छन्। सुरक्षा विश्लेषकहरूका अनुसार डिजिटल वित्तीय साक्षरताको अभाव र कमजोर साइबर सुरक्षाका कारण यस्ता घटना दोहोरिरहेकाले सरकारी नियमन र जनचेतना अभियान अपरिहार्य भएको बताउँछन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images