दाेलखा-बागमती प्रदेश सरकारले दोलखाकाे स्वास्थ्य कार्यालयलाई करिब एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेललाई आज बिहान एक कार्यक्रमका बीच ती सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।
स्वास्थ्य सामग्रीहरुमा भेन्टिलेटर, मोबाइल एक्सरे मेसिन, अक्सिजन कन्सेन्ट्रेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, सर्जिकल तथा अन्य गरी करिब ७० हजार वटा मास्क, पन्जा, स्यानिटाइजर, गाउनलगायत सामग्री रहेको छ ।
यी सामग्रीहरु जिल्ला स्वास्थ्य कार्यालयमार्फत आवश्यकताका आधार जिल्लाको ९ वटै पालिका र अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा प्रदान गर्ने गरी स्वास्थ्य कार्यालयलाई प्रदान गरिएको मन्त्री बस्नेतले बताईन् ।
यसप्रकारका स्वास्थ्य सामग्री आवश्यकता अनुसार बागमती प्रदेश अन्य सबै जिल्लामा पनि जिल्लाकै मन्त्री तथा सांसदहरुमार्फत पठाइसकेको उनले बताईन् ।
सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री बस्नेतले एक-डेढ हप्ताभित्रै मिर्गौला रोगीहरुको लागि डायलासिस गर्न लागि आवश्यक पर्ने डायलासीस मेसिन पनि जिल्लामा पठाउने बताईन् ।
आजै उनले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमापनि पुगेर विभिन्न सामग्री हस्तान्तरण गरेकी थिईन् ।प्रदेश अन्तर्गतको चरिकोट अस्पतालको पनि अवलोकन गरेकी थिइन् ।
शिक्षाको समेत जिम्मेवारीमा रहनु भएकी सामाजिक विकास मन्त्री बस्नेतले विभिन्न सामुदायिक विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर पनि हस्तान्तरण गरेकी हुन् ।
हिंसा पीडित महिलाहरुसँग भेट
सामाजिक विकास मन्त्री बस्नेतले चरिकोटमा रहेको आवाज नेपालको सुरक्षित आवास गृहमा पुगेर हिंसा पीडित महिला तथा बालबालिकाहरुसँग पनि भेट गरेकी हुन् । त्यसक्रममा उनले पीडितहरुको कुरा सुनेकी थिईन् । महिला तथा बालबालिका पनि प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालयकै कार्यक्षेत्रमा रहेकाले मन्त्री बस्नेतले जिल्ला पुग्दा सुरक्षित आवास गृहमा पुगेर आवास गृहको अवस्था र त्यहाँ बसिरहेको महिलाहरुको अवस्थाबारे आवाज नेपालकी अध्यक्ष सृजना कार्कीसँग पनि भेट गरी बुझ्ने काम भएको हो ।
सामाजिक विकास मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगेकी मन्त्री बस्नेतले अन्य विभिन्न सरोकारवालाहरुसँग पनि भेटघाट र छलफल गरेकी हुन् ।


विश्व खबर 




















