काठमाडौं– देशभर हाल मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ ।
उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ ।
हाल कोशी र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा पनि साधारणतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।


विश्व खबर 



















