images
images
  • नेपाललाई ‘ट्रयाप’ मा पार्ने ओलीको तयारी

    काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ३ अघिको संरचनाअनुसार बैठक बोलाउने तयारी गर्नुभएको छ । यो तयारीसँगै माधव नेपाललाई ‘ट्रयाप’मा पार्ने ओलीको योजना रहेको एमाले स्रोतले बताएको छ । बैठकको मिति तोक्ने ओलीको योजना अनुसार अन्तिम तयारीमा एमालेका दोस्रो तहका नेताहरु लागि परेका छन् ।

    तर, बैठकअघि अध्यक्ष ओलीले असन्तुष्ट पक्षसँग छलफल गर्न चाहनुभएको छ । सोही योजनाअनुसार सोमबार बिहान एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच करिव चारघण्टा छलफल भएको थियो ।

    ‘बालुवाटारमा अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको मागअनुसार २०७५ जेठ ३ अघिकै पार्टी संरचनाका आधारमा बैठक बोलाउँदै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘त्यो बैठकमा माधव नेपाल आउँछन् कि आउँदैनन् रु आएनन् भने ट्रयापमा पर्छन् ।’

    गौतमसँग कुराकानी गर्न पौडेल भैंसेपाटीस्थित आफ्नै घरको नजिक रहेको गौतमनिवासमा छिरेर पार्टीको आन्तरिक विवादबारे लामो कुराकानी गर्नुभएको थियो । पौडेल र गौतमबीच खासगरी नेकपा एमालेलाई जेठ २ मा फर्काउने, तर कसरी रु भन्ने विषयमा कुराकानी भएको थियो ।

    नेकपा एकता भंग गर्ने सर्वोच्च अदालतको निर्णयसँगै पार्टीलाई पूर्ववत अर्थात् २०७५ जेठ २ को संरचनामा फर्केर बैठक बस्नुपर्ने र त्यसबाट अघि बढ्नुपर्नेमा ओलीले त्यसो नगरी एकलौटी ढंगले अघि बढेकोमा खनाल–नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । त्यसयता एमालेको ओली र खनाल नेपाल समुहका देशैभर समानान्तर गतिविधि भइरहेका छन् । छुट्टै एकता अभियान चलाइरहनुभएका उपाध्यक्ष वामदेव गौतमले पनि जेठ २ मा फर्कनुपर्ने अडान राख्दै आउनुभएको छ ।

    अध्यक्ष ओली नेकपा घोषणाअघिको संरचनामा फर्कन तयार नभएको भनेर खनाल–नेपाल पक्षले भनिरहेका बेला यही विषयमा पौडेल र गौतमबीच लामो कुराकानी भएको हो ।

    uml karaghal

    सर्वोच्चको फैसलाले ओलीलाई फाइदा ?
    पछिल्लोपटक कर्णालीका चार सांसदलाई एमाले महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरिएको कारवाहीलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत अस्वीकार गरिदियो । अदालतको सो आदेशप्रति केपी ओली पक्षले बाहिरीरुपमा असन्तुष्टि जनाएको छ भने माधव पक्षले कुनै प्रतिक्रिया जनाएको छैन ।

    तर, ओली पक्षले बाहिरीरुपमा अदालतको निर्णयप्रति असन्तुष्टि जनाए पनि भित्रीरुपमा चाहिँ केपी ओलीलाई पुनः जेठ २ कै अवस्थामा फर्कन मार्गप्रशस्त गरिदिएको विश्लेषण बालुवाटारमा हुन थालेको छ । खासगरी, बादल समूहलाई पाखा लगाउन नमिल्ने प्रधानमन्त्री ओलीले बताइरहनुभएको बेला अब अदालतले नै महाधिवेशन आयोजक कमिटीलाई नमान्ने बताएपछि ओलीलाई सजिलो भएको उहाँनिकट नेता बताउँनुहुन्छ । यसअघि पनि सर्वोच्च अदालतकै निर्णयका कारण बादल लगायतका ७ जना पूर्वमाओवादी नेताहरुलाई मन्त्रीबाट हटाउन ओलीलाई बाटो खुलेको थियो ।

    त्यस्तै, महाधिवेशन आयोजक कमिटीलाई नमान्ने अदालतको पछिल्लो निर्णयमा टेकेर पार्टीको संरचनाबाट २३ माओवादीलाई बाहिर पारेर जेठ २ को संरचनामा फर्कन अध्यक्ष ओलीलाई मार्गप्रशस्त भएको एमाले स्रोतको दाबी छ ।

    सर्वोच्चको आदेशपछि अब जेठ २ पूर्वको संरचनामा बैठक बोलाइएको खण्डमा विपक्षी गठबन्धन बनाइसकेको माधव–खनाल पक्षलाई बालुवाटार जाने कि नजाने भन्ने दुविधा उत्पन्न हुन सक्ने र उहाँहरु ‘ट्रयाप’मा पर्न सक्ने ओली पक्षका नेताहरुको बुझाइ छ । यसैगरी एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका रामबहादुर थापा बादल लगायतका २३ जनालाई पनि सर्वोच्च अदालतले नै मान्यता नदिएको भनेर पन्छाउन सजिलो भएको विश्लेषण ओली पक्षका नेताहरुले गर्न थालेका छन् ।

    सर्वोच्च अदालतले पनि बाटो खोलिदिएको र जेठ २ को संरचनामा बैठक बोलाउँदा खनाल–नेपाल समूह अप्ठेरोमा पर्ने बुझेपछि अध्यक्ष ओली जेठ २ कै अवस्थामा पार्टीको बैठक राख्न चाहेको स्रोतले बतायो । यसका लागि ओलीले आफू निकटकाहरुसँग छलफल चलाउनुभएको छ । र, यसै सन्दर्भमा ओली र माधव पक्षमा कतै नलागी बसेका गौतमसँग ओलीको सल्लाह अनुसार विष्णु पौडेलले छलफल गर्नुभएको हो । ओलीनिकट स्रोतका अनुसार अब अध्यक्ष ओली माधव नेपालको माग अनुसार नै जेठ २ को पार्टी संरचनाको बैठक बोलाउन तयार हुनुभएको छ ।

    त्यसो त कर्णाली मुुद्दाको आदेश आउनुअघि नै ओलीले गत जेठ २३ गते ६ बुँदे प्रस्ताव अघि सार्दै जेठ ३ अघि फर्कने, तर माधव नेपाल पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि गरेको प्रस्तावबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सार्नुभएको थियो ।

    ओलीको सो प्रस्तावलाई माधव पक्षले छलछाम र षड्यन्त्र भन्दै अस्वीकार गरिसकेको छ । तर, कर्णाली प्रकरणमा सर्वोच्चको आदेशले समेत जेठ २ लाई नै स्मरण गराएपछि ओली अरु लचक बन्ने संकेत देखिएको हो । तर, ओलीले थप लचक भएर जेठ २ अघिको संरचनामा बैठक डाकेको अवस्थामा नेपाल–खनाल पक्ष अप्ठेरोमा पर्ने, उनीहरुभित्र विवाद पैदा हुने र बैठकमा जानुपर्छ र पर्दैन भन्ने दुई धार देखा पर्ने ओली पक्षको विश्लेषण छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images