images
images
  • गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको खुला चिठ्ठी

    काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र लेखेका छन् । प्रवक्ता शर्माले पठाएको पत्र संवेदनशील भनिएको छ ।

    शर्माले मुख्यमन्त्री नेपालीलाई सोचेर बोल्न, विज्ञका कुरा सुनेर मात्रै सही निर्णय लिन आग्रह समेत गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको सहयोगमा विपक्षी गठबन्धनबाट कांग्रेसका नेपाली मुख्यमन्त्री बनेका हुन् । मुलुक प्रदेश संरचनामा गएपछि उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बने ।

    यस्तो छ, खुला पत्र

    श्री कृष्णचन्द्र नेपालीज्यू,

    मुख्यमन्त्री गण्डकी प्रदेश।

    बधाई तथा शुभकामनासहित संक्षिप्त सुझाव

    अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।

    यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन्।

    समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ। आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्।

    हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ।

    तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको। प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस्।

    प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस्। तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस्। राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ।

    गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस्। सहि निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै( पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्।

    –विश्वप्रकाश शर्मा

    प्रतिक्रिया दिनुहोस्
    images
    images