काठमाडौं- सशस्त्र प्रहरी बलमा हवल्दारदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मको बढुवाको जाम खुलेको छ ।
जसअनुसार सशस्त्रमा एकैपटक करिब ६ हजार प्रहरीको बढुवा हुनेछ । सशस्त्र प्रहरी बलले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ । केही पदमा समायोजनको प्रक्रियाका कारण लामो समयदेखि बढुवा अवरुद्ध थियो। सरकारले केही पद समायोजनको स्वीकृत दिएसँगै बढुवाअघि बढेको स्रोत बताउँछ।
सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकैपटक सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन भएसँगै आगामी साउनभित्र सबै पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । एकैपटक ठूलो संख्यामा बढुवा हुने भएकाले यसबाट सशस्त्र प्रहरीका कर्मचारीको मनोबल बढ्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
त्यस्तै, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाका लागि सूचना प्रकाशित गरिएको छ। आइतबार नै लेखा उपसमूहतर्फ पाँचजना र कानुन उपसमूहतर्फ एकजनाको सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिससमेत भएको छ। आइतबार नै एक सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बढुवाको जाम खुलेसँगै ०६४ मा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुनेछन्। भर्ना भएको १६ वर्षपछि उनीहरू डिएसपी हुनेछन्। सो टोलीका केही अघिल्लो बढुवामा छुटेका थिए।
त्यस्तै, ०६० मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायब उपरीक्षकमा रहेकोमा अब उनीहरू पनि एसपीमा बढुवा हुनेछन्। उनीहरू २० वर्षमा एसपी हुनेछन्। ०५९ मा भर्ना भएका इन्स्पेक्टरको टोली २१ वर्षपछि एसएसपी हुनेछन्। त्यस्तै, ०६१ मा असइ पदमा भर्ना भएकाहरू अहिले इन्स्पेक्टरमा बढुवा हुनेछन्।
त्यस्तै, जवानबाट हवल्दार हुन १५ वर्ष लाग्नेमा अब यस्तो समस्या हल हुने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन्। सहायक हवल्दारका केही पद थप गरिएको छ। सशस्त्र प्रहरीमा बढुवाको जामका कारण समस्या रहँदै आएको छ। हाल केही पद समायोजन गरेर ठूलो संख्यामा बढुवा गर्न लागिएकाले अब त्यस्तो समस्या हट्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन्।
को–को हुँदै छन् बढुवा ?
०६० मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायब उपरीक्षकमा रहेकोमा अब उनीहरू एसपीमा बढुवा हुनेछन्। ०६४ मा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुनेछन्।
०५९ मा भर्ना भएका इन्स्पेक्टरको टोली २१ वर्षपछि एसएसपी हुनेछन्। ०६१ मा असइ पदमा भर्ना भएका अहिले इन्स्पेक्टरमा बढुवा हुनेछन्। आइतबार नै एक सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।





















