काठमाडौं – नोभेम्बर ५ तारिख विश्व इतिहासमा विभिन्न राजनीतिक, सैन्य तथा वैज्ञानिक घटनाका कारण स्मरणीय छ । यस दिन सन् १५५६ मा पानीपतको दोस्रो युद्ध भएको थियो भने सन् २००६ मा इराकका अपदस्थ राष्ट्रपति सद्दाम हुसेनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। त्यस्तै, भारतले सन् २०१३ मा आफ्नो पहिलो अन्तरिक्ष अभियान ‘मङ्गलयान’ प्रक्षेपण गरेको थियो
पानीपतको दोस्रो युद्ध (सन् १५५६) : भारतीय इतिहासमा महत्त्वपूर्ण मानिने पानीपतको दोस्रो युद्ध सन् १५५६ नोभेम्बर ५ मा भएको थियो । मुगल सम्राट अकबरका सेनापति बैरम खानको नेतृत्वमा रहेको सेनाले राजा हेमचन्द्र विक्रमादित्य (हेमू) को सेनालाई पराजित गरेको थियो । यस विजयले भारतमा मुगल शासनको पकड बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
गनपाउडर प्लट अर्थात् बारुद षड्यन्त्र विफल (सन् १६०५) : बेलायतमा राजा जेम्स प्रथम र संसद्का सदस्यहरूलाई एकैपटक मार्ने उद्देश्यले संसद् भवनमा बारुद विस्फोट गराउने षड्यन्त्र रचिएको थियो । सन् १६०५ नोभेम्बर ५ को बिहान संसद् भवनको भूमिगत कोठामा बारुदसहित रहेका गाई फक्स पक्राउ परेपछि उक्त षड्यन्त्र विफल भएको थियो। यस घटनालाई बेलायतमा हरेक वर्ष ‘गाई फक्स नाइट’ वा ‘बोनफायर नाइट’ का रूपमा स्मरण गरिन्छ ।
फ्र्याङ्कलिन डी। रुजवेल्ट तेस्रो कार्यकालका लागि निर्वाचित (सन् १९४०) : सन् १९४० नोभेम्बर ५ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति फ्र्याङ्कलिन डी। रुजवेल्ट तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। अमेरिकी इतिहासमा राष्ट्रपतिका रूपमा तेस्रो कार्यकाल जित्ने उनी पहिलो व्यक्ति बनेका थिए। पछि अमेरिकी संविधानको २२औँ संशोधनले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा निर्धारण गर्यो ।
बेनजीर भुट्टोको सरकार बर्खास्त (सन् १९९६) : सन् १९९६ नोभेम्बर ५ मा पाकिस्तानका तत्कालीन राष्ट्रपति फारूख अहमद खान लेगारीले प्रधानमन्त्री बेनजीर भुट्टोको दोस्रो सरकार बर्खास्त गरेका थिए। राष्ट्रपति लेगारीले भ्रष्टाचार, नातावाद र शासन सञ्चालनमा अनियमितताको आरोप लगाउँदै संविधानमा रहेको अधिकार प्रयोग गरी राष्ट्रिय सभा पनि विघटन गरेका थिए।
सद्दाम हुसेनलाई मृत्युदण्डको फैसला (सन् २००६) स् सन् २००६ नोभेम्बर ५ मा इराकको उच्च न्यायाधिकरणले अपदस्थ राष्ट्रपति सद्दाम हुसेनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। सन् १९८२ मा दुजैलमा १४८ जना शिया मुस्लिमको हत्यासँग सम्बन्धित घटनामा उनलाई दोषी ठहर गरिएको थियो। उनलाई सन् २००६ डिसेम्बर ३० मा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।
भारतद्वारा पहिलो अन्तरिक्ष अभियान ‘मङ्गलयान’ प्रक्षेपण (सन् २०१३) : सन् २०१३ नोभेम्बर ५ मा भारतले आफ्नो पहिलो अन्तरग्रहीय अन्तरिक्ष अभियान ‘मार्स अर्बिटर मिसन’ अर्थात् ‘मङ्गलयान’ सफलतापूर्वक प्रक्षेपण गरेको थियो। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपण गरेको थियो। सन् २०१४ सेप्टेम्बर २४ मा मङ्गल ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गरेपछि भारत पहिलो प्रयासमै मङ्गलको कक्षमा पुग्ने पहिलो एसियाली राष्ट्र बनेको थियो ।




















