काठमाडौं – वासिङ्टन डीसी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र समाजवादी, साम्यवादी तथा अतिवादी वामपन्थी विचारधाराको प्रभाव बढ्दै गएको दाबी गर्दै नोभेम्बर १ देखि ७ सम्मको अवधिलाई ‘साम्यवादविरोधी सप्ताह’ घोषणा गरेका छन् ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट नोभेम्बर ३ मा जारी घोषणामार्फत ट्रम्पले अमेरिकी स्वतन्त्रता, व्यक्तिगत अधिकार, लोकतान्त्रिक मूल्य र स्वतन्त्र बजार व्यवस्थामाथि साम्यवादी तथा समाजवादी विचारधाराबाट खतरा उत्पन्न भइरहेको बताएका छन् ।
घोषणामा उनले अमेरिकाको राजनीतिक तथा आर्थिक व्यवस्थाले नयाँ चुनौती सामना गरिरहेको उल्लेख गर्दै समाजवादी, साम्यवादी र अतिवादी वामपन्थी विचारको प्रभाव देशभित्र बढ्दै गएको दाबी गरेका छन् । इतिहासका गल्तीबाट पाठ सिकेर अमेरिकी गणतन्त्रका आधारभूत सिद्धान्तको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।
ट्रम्पले आफ्नो नेतृत्वमा अमेरिका कहिल्यै साम्यवादी विचारधाराको सिकार नबन्ने र संयुक्त राज्य अमेरिका साम्यवादी मुलुक नबन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले संविधान, व्यक्तिगत स्वतन्त्रता, नागरिकको मर्यादा र स्वतन्त्र बजार व्यवस्थाको संरक्षणलाई आफ्नो प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन् ।
घोषणामा साम्यवादी तथा समाजवादी शासन व्यवस्थाअन्तर्गत राज्यले व्यक्तिको विचार, सिर्जनशीलता र राजनीतिक अभिव्यक्तिमाथि नियन्त्रण गर्दा लाखौँ मानिसले गरिबी, शोषण, हिंसा र पीडा भोग्नुपरेको उल्लेख गरिएको छ । त्यस्ता शासन व्यवस्थाबाट पीडित भएका मानिसहरूको स्मरण गर्दै उनीहरूले गुमाएका स्वतन्त्रताको पक्षमा उभिन अमेरिकी नागरिकलाई आह्वान गरिएको छ ।
अमेरिकी गणतन्त्र जनताको सहमतिबाट सरकार सञ्चालन हुने मान्यतामा आधारित रहेको उल्लेख गर्दै ट्रम्पले नागरिकका जन्मजात अधिकार र स्वतन्त्रता राज्यको नियन्त्रणभन्दा माथि रहने धारणा अघि सारेका छन् । अमेरिकी संविधानले सुनिश्चित गरेका अधिकारको रक्षा गर्दै आगामी पुस्तासम्म स्वतन्त्रताको मूल्य कायम राख्नुपर्ने उनको भनाइ छ ।
उनले अमेरिकी नागरिकलाई आफ्नो जीवनशैली र राष्ट्रिय पहिचानमाथि आउने कुनै पनि खतराविरुद्ध दृढतापूर्वक उभिन तथा स्वतन्त्रताको ज्योति जोगाउन आग्रह गरेका छन्।
ट्रम्पले नोभेम्बर १ देखि ७ सम्मलाई साम्यवादविरोधी सप्ताह घोषणा गर्दै हस्ताक्षर गरेको उक्त दस्तावेजमा अमेरिकाको स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई विश्व इतिहासमा मानवीय स्वतन्त्रताको महत्त्वपूर्ण उदाहरणका रूपमा व्याख्या गरिएको छ ।
ह्वाइट हाउसको घोषणाले साम्यवाद र समाजवादप्रति ट्रम्प प्रशासनको राजनीतिक दृष्टिकोणलाई स्पष्ट पारेको छ । विशेषगरी अमेरिकी समाजभित्र वामपन्थी विचारको विस्तारप्रति चिन्ता व्यक्त गर्दै आएको ट्रम्पको राजनीतिक सन्देशलाई यस घोषणाले औपचारिक अभिव्यक्ति दिएको छ ।




















