काठमाडौं – युरोपेली युवा फुटबलमा चर्चामा रहेका म्यानचेस्टर युनाइटेडका १६ वर्षीय फरवार्ड जेजे ग्याब्रिएल स्पेनिस क्लब रियल मड्रिड जाने तयारीमा छन् । रियल मड्रिडले उनलाई आगामी जनवरीमा अनुबन्ध गर्ने लक्ष्यसहित ग्याब्रिएल र उनका प्रतिनिधिसँग मौखिक सहमति गरेको छ ।
बिबिसी स्पोर्टका अनुसार ग्याब्रिएललाई अनुबन्ध गर्ने दौडमा रियल मड्रिडले अग्रता लिएको छ। बार्सिलोना, पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिखलगायत युरोपका अन्य क्लबले पनि उनीप्रति चासो देखाएका थिए । तर रियल मड्रिडले सम्झौताको प्रक्रिया अघि बढाउन बढी प्रगति गरेको छ ।
ग्याब्रिएल अहिले पनि म्यानचेस्टर युनाइटेडको खेलाडीका रूपमा दर्ता छन् । तर उनले गत सेप्टेम्बरमा क्लब छाड्ने इच्छा व्यक्त गरेपछि प्रशिक्षणमा फर्किएका छैनन् । हाल उनी स्पेनमा व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेका छन् ।
युनाइटेडको पूर्वसिजन भ्रमणका क्रममा एट्लेटिको मड्रिडविरुद्ध खेलेका ग्याब्रिएलले सिनियर टोलीबाट खेल्ने अवसर खोजिरहेका थिए । सेप्टेम्बरमा ब्राइटनविरुद्धको लिग कप खेलमा सहभागी भएको भए उनी युनाइटेडका इतिहासमै सबैभन्दा कम उमेरमा सिनियर टोलीबाट खेल्ने खेलाडी बन्न सक्थे । तर उनले क्लब छाडेर अन्यत्र अवसर खोज्ने निर्णय गरे ।
ग्याब्रिएलको चर्चा बढ्नुको अर्को कारण युइएफए युवा लिगमा पहिलो खेलमै गरेको ह्याट्रिक हो। उनको प्रदर्शनले युरोपका ठूला क्लबको ध्यान आकर्षित गरेको थियो । गत सिजन उनी १८ वर्षमुनिको प्रिमियर लिगका उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । त्यतिबेला उनी १४ वर्षका मात्र थिए ।
उनले युरोपेली सङ्घको राहदानीसमेत प्राप्त गरेका छन्। यसले अन्तर्राष्ट्रिय फुटबलका युवा खेलाडी स्थानान्तरणसम्बन्धी नियमअनुसार इङ्ल्यान्डबाहिरका युरोपेली क्लबमा आबद्ध हुने बाटो सहज बनाउन सक्छ ।
ग्याब्रिएल क्लबबाट बाहिरिएमा म्यानचेस्टर युनाइटेडले क्षतिपूर्ति पाउनेछ। तर इङ्ल्यान्डकै अर्को क्लबमा जाने अवस्थामा भन्दा विदेशस्थित क्लबमा आबद्ध हुँदा पाउने क्षतिपूर्ति रकम कम हुन सक्ने बताइएको छ । अहिलेसम्म म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबीच औपचारिक वार्ता भने सुरु भएको छैन ।
युवा खेलाडीको भविष्य र सुरक्षाबारे युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले पनि सावधानी अपनाउनुपर्ने बताएका छन्। ब्राइटनसँगको लिग कप खेलपछि उनले ग्याब्रिएल अझै सानै उमेरको खेलाडी भएकाले उसको कल्याण, विकास र खेल्ने अवसरबारे क्लब सचेत हुनुपर्ने बताएका थिए ।
पूर्वअन्तरिम प्रशिक्षक ड्यारेन फ्लेचरले यसअघि ग्याब्रिएलको भविष्यमा धेरै अवसर रहेको बताएका थिए। युनाइटेडका एक स्रोतले उनलाई युरोपका उत्कृष्ट १५ वर्षीय खेलाडीमध्ये एकका रूपमा व्याख्या गरेका थिए ।
रियल मड्रिडले जनवरीमा उनलाई भित्र्याउने अपेक्षा गरिए पनि सम्झौता अन्तिम भइसकेको छैन। युवा खेलाडीको विकास र भविष्यलाई लिएर दुई क्लबबीचको सम्भावित प्रतिस्पर्धाले ग्याब्रिएलको आगामी फुटबल यात्रा थप चासोको विषय बनेको छ ।




















