images
images
  • एथलेटिक्सतर्फ सर्वश्रेष्ठ खेलाडी: महिला र पुरुष दुवैतर्फ मनोनयनमा अमेरिका अगाडि

    काठमाडौं– हामी वर्षको ११औं महिनामा कुँदिरहेका छौं । अबका दुई महिनामा एकाधभन्दा बाहेक विश्वस्तरीय खेल महोत्सव हुने छैनन् । यस वर्ष फुटबलको विश्वकप आयोजना भएको थियो भने पौडीको पान प्यासिफिक र युरोपेली च्याम्पियनसिप एकै पटक आयोजना भए ।

    टेनिसका चार वटै ग्रान्डस्लाम सम्पन्न भइसकेका छन् । एथलेटिक्सको डायमन्ड लिग र अल्टिमेट विश्व च्याम्पियनसिप सकिएको छ । धेरै खेलका विश्व च्याम्पियनसिप यस वर्ष पनि आयोजना भए । साथमा व्यावसायिक र फ्रेन्चाइज पनि भए ।

    प्रदर्शनअनुसार धेरै खेलको वर्षको उत्कृष्ट खेलाडीको घोषणा भइसकेको छ । फुटबलको बालोन डी–ओर अवार्ड घोषणा भइसकेको छ । नोभेम्बर र डिसेम्बर महिनामा धेरै खेलका यस वर्षका उत्कृष्ट खेलाडीको घोषणा हुनेछ ।

    एथलेटिक्सको यस वर्षको उत्कृष्ट खेलाडीका लागि महिला र पुरुषमा १०-१० जना स्पर्धामा छन् । यसमध्येको ३-३ जनाको छनोट नोभेम्बर १० र ११ मा हुनेछ । यसपछि नोभेम्बर २६ मा यस वर्षको महिला र पुरुषको सर्वश्रेष्ठ एथलेटिक्स खेलाडीको चयन हुनेछ ।

    महिलातर्फ इथियोपियाकी टिगसेट असिफा मनोनयनमा परेकी छन् । उनले यस वर्ष लन्डन म्याराथन र बर्लिन म्याराथनको उपाधि जितेकी थिइन् । संसारको यो दुवै प्रतिष्ठित अवार्ड पाउनुलाई दुर्लभ मानिन्छ ।

    अमेरिकाकी चेज ज्याक्सन पनि मनोनयनमा परेकी छन् । उनले सटपुटमा दुई पटक उत्तर अमेरिकी कीर्तिमान कायम गरिन् । २१.०२ मिटरको कीर्तिमान राखेकी उनले दोस्रो पटक यो कीर्तिमान भङ्ग गर्दै २१.१४ मिटरको कीर्तिमान कायम गरेकी हुन् ।

    athlate nominee 2026

    मेलिसा जेफरसन उड भने यस वर्षकी खेल नायिका नै हुन् । उनले अल्टिमेट विश्व च्याम्पियनसिपमा १०० र २०० मिटरमा स्वर्ण पदक जितिन् । उनले १०० मिटर दुरी १०.६२ र २०० मिटर २१.४७ सेकेन्डको समयमा तय गरिन् । दुवै दुरीमा यो उनको वर्षको उत्कृष्ट समय हो । २०० मिटरको समय एथलेटिक्स इतिहासकै तेस्रो उत्कृष्ट हो ।

    केन्याकी एगनेस एगलेटिच यस वर्षकी अर्की सफल खेलाडी हुन् । उनले ५० सेकेन्डले प्रतिस्पर्धीलाई पछि पार्दै विश्व हाफ म्याराथनको उपाधि जितेकी हुन् ।
    मारिलेडी पाउलिना अर्की आकर्षक खेलाडी हुन् । यस वर्ष ४०० मिटर दौडमा उनको बेजोड प्रभाव रहेको छ ।

    यस वर्ष अपराजेय डोमिनिक गणतन्त्रकी यी खेलाडीले ८ पटक ४९ सेकेन्डभन्दा कम समयमा ४०० मिटर कुदेकी हुन् । उनले ४८.४८ सेकेन्डको डायमन्ड लिग कीर्तिमान कायम गरेकी हुन् ।

    पहिलो विश्व हाफ म्याराथन रेस हिँडाइमा स्पेनकी मारिया पेरेजले उपाधि जितिन् । उनले हाफ म्याराथनमा विश्व कीर्तिमानसहित युरोपेली च्याम्पियनसिपको उपाधि जितिन् ।

    क्यानडाकी ह्यामर थ्रोकी खेलाडी क्यामरिन रोजर्सले ८१।१३ मिटर टाढा फ्याँकेर आफ्नै नाममा रहेको उत्तर अमेरिकी कीर्तिमान भङ्ग गरेकी हुन् । यस वर्षको ५ उत्कृष्ट समय उनकै नाममा छ । उनले यस वर्ष कमनवेल्थ खेलमा स्वर्ण पदक पनि जितिन् ।

    यस वर्षको सनसनीपूर्ण स्टार अमेरिकाको बाधा दौड धाविका मसाइ रसेल हुन् । उनले १०० मिटर हर्डल्समा १२.०९ सेकेन्डको विश्व कीर्तिमान कायम गरेकी हुन् ।

    तीन पटक डायमन्ड लिगको कीर्तिमान कायम गरेकी स्विस आन्द्रे उरे पनि मनोनयनमा परेकी छन् । उनले ८०० मिटर दौडमा युरोपेली र डायमन्ड लिगको उपाधि जितेकी हुन् । ज्याइभलिन थ्रोमा एसियाली कीर्तिमान कायम गरेकी यान जुयी पनि मनोनयनमा परेकी छन् ।

    पुरुषमा पनि अमेरिका हावी

    अमेरिकाका केनेथ बन्डरनायकेले अल्टिमेट विश्व च्याम्पियनसिपमा १०० र २०० मिटरको उपाधि जिते । साथै उनले २०० मिटरमा डायमन्ड लिगको पनि उपाधि जिते । उनी स्वाभाविक रूपले मनोनयनमा परे ।

    स्लोभानियाका क्रिस्चियन चेले डायमन्ड लिग र युरोपेली च्याम्पियनसिपमा डिसकस थ्रोको उपाधि जिते ।

    इटालीका एन्डी डायज हर्नान्डेज पनि मनोनयनमा परे । उनले विश्व इनडोर, डायमन्ड लिग र युरोपेली च्याम्पियनसिपको ट्रिपल जम्पको उपाधि जिते ।
    यस वर्षको सनसनीपूर्ण स्टार भने एसलसन डस सान्टोस हुन् । ब्राजिलका उनले ४०० मिटर हर्डल्समा ४५.८० सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरे । डायमन्ड लिगको फाइनल सही उनले ११ वटा फाइनल रेस कुदेर अपराजेय रहे ।

    विश्व एथलेटिक्समा स्वीडेनका मोनडे डे प्लेन्टिस नाम चलेका खेलाडी हुन् । केही वर्ष अघिदेखि उनको प्रभाव कायम छ । उनले यस वर्ष ६.३१ मिटरको नयाँ विश्व कीर्तिमान कायम गरे । उनले अल्टिमेट, विश्व इनडोर र युरोपेली च्याम्पियनसिपको उपाधि हात पारे ।

    बोत्सवानाका कोलेन केबिटनापसिप यस वर्ष छाए । उनले अल्टिमेट विश्व च्याम्पियनसिपमा ४३.३९ सेकेन्डमा रेस पूरा गरे । यो अहिलेसम्मकै पाँचौं उत्कृष्ट समय हो । डायमन्ड लिग विजेता उनले ३ पटक डायमन्ड लिगको समयमा सुधार गरे ।

    बेलायतका जास केरले माइलमा विश्व कीर्तिमान कायम गरे । उनले १५०० मिटरमा विश्व अल्टिमेट च्याम्पियनसिपको उपाधि जिते । ३००० मिटरमा विश्व इनडोर र कमन वेल्थमा स्वर्ण पदक हात पारे ।

    यस वर्षका एउटा स्टार भने श्रीलङ्काका रमेश थङ्गा रहे । उनले ज्याइभलिन थ्रोमा विश्व अल्टिमेट, डायमन्ड लिग, एसियाली खेलकुद र कमनवेल्थको स्वर्ण पदक जिते ।

    केन्याका सेबास्टिन केवाले विश्व कीर्तिमानको समयसहित लन्डन म्याराथनको उपाधि हात पारेका हुन् । २ मिनेटभन्दा कम समयमा म्याराथन रेस पूरा गर्ने दुर्लभ सफलता उनले पाए । उनले १ मिनेट ५९.३० सेकेन्डको कीर्तिमान कायम गरेका हुन् ।

    अमेरिकाका ज्याकोब थार्पले ११० मिटर हर्डल्समा यस वर्ष ६ पटक १३ सेकेन्डभन्दा कम समयमा दुरी पार गरे । यसै क्रममा उनले १२.७५ सेकेन्डको विश्व कीर्तिमान कायम गरे । उनले डायमन्ड लिग र अल्टिमेट विश्व च्याम्पियनसिपको उपाधि पनि जिते ।

    यो महिना महिला र पुरुष दुवै उत्कृष्टको चयन हुने नै छ । संसारको शीर्ष १० भित्र अटाउनु भने चानचुने होइन ।

    -वर्ल्ड एथलेटिक्सलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images