काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ ।
१७५ रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो । जनकपुरलाई जितबाट रोक्न वेस्ट इन्डिजका आन्द्रे रसेलले सर्वाधिक चार विकेट लिए ।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि जिताउन सकेनन् । त्यस्तै विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन जोडे ।
सेफ हसनले अन्तिमसम्म क्रिजमा रहेर जितको प्रयास गरे पनि अन्तिम बलमा आउट हुन पुगे ।
बलिङतर्फ विराटनगरका आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए । एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए ।
यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । शुभम रन्जने ७ रनमा अविजित रहँदा ओपनर शेहान जयासूर्य २ रनमात्रै बनाएर आउट भए ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।
विराटनगरले सुरुवाती दुई खेलमा हार व्यहोरेपछि लगातार दुई खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । चार खेलमा जनकपुरको यो दोस्रो हार हो । जनकपुरको पनि ४ खेलबाट ४ अंक नै जोडेको छ ।





















