काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए ।
यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । शुभम रन्जने ७ रनमा अविजित रहँदा ओपनर शेहान जयासूर्य २ रनमात्रै बनाएर आउट भए ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्




















