काठमाडौं– साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्समाथि सहज जीत निकालेको छ । उसले पोखरालाई ८ विकेटले हराएको हो ।
पोखराले दिएको ९८ रनको झिनो लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ । लुम्बिनीका लागि अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ४७ र निरोशन डिकवेलाले २७ रन बनाए । त्यस्तै डार्सी सर्टले १३ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका लागि विपीन खत्रीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ९७ रन बनाउन सक्यो । उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाएका छन् ।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २, शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।
जारी एनपीएलमा लुम्बिनी लायन्स अपराजित छ । उसले यससहित तीन खेलमध्ये दुईमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने जीतविहीन छ ।






















