काठमाडौं – दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिलरलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए। उनी पहिलोपटक नेपाल आएका हुन् ।
कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो । बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेलको नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन् ।
३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन्। त्यस्तै, १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाएका छन् ।
समग्र टी–२० क्रिकेटमा पनि उनको प्रदर्शन प्रभावशाली छ। विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा उनले चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए ।
उनले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । सीमित ओभरको क्रिकेटमा लामो अनुभव र आक्रामक ब्याटिङ क्षमता भएका मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।





















