images
images
  • मलेसियाबाट फर्किएर चौँरीपालनमा रमाए पासाङ, गाउँमै बनाए ४५ लाखको व्यवसाय

    काठमाडौं – रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने आफ्नै गाउँमा पुर्खौली पेसालाई व्यावसायिक रूप दिएर सफलताको बाटोमा अघि बढिरहेका छन् । गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पाले चौँरीपालनबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

    तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेअनुसार आम्दानी गर्न सकेनन् । त्यसपछि उनी जन्मभूमि फर्किए र हजुरबुबा तथा बुबाको पालादेखि निरन्तरता पाउँदै आएको चौँरीपालनलाई व्यावसायिक बनाउने निर्णय गरे । परिवारको भागमा परेका १० वटा चौँरीबाट सुरु भएको उनको व्यवसाय अहिले ६० वटाको चौँरी फार्ममा विस्तार भएको छ ।

    विदेशबाट फर्किएर गाउँमै व्यवसाय गर्ने उनको निर्णय अहिले आर्थिक रूपमा समेत फलदायी बनेको छ । विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा सक्रिय पासाङसँग अहिले करिब ४५ लाख रुपैयाँ बराबरका ६० वटा चौँरी छन् । उनले उत्पादन गर्ने दूध तथा दुग्धजन्य पदार्थ काठमाडौंस्थित दुग्ध विकास संस्थान (डिडिसी) मा बिक्री गर्दै आएका छन् ।

    पासाङका अनुसार चौँरीले वर्षमा करिब छ महिना मात्रै दूध दिन्छन् । दूध उत्पादन हुने अवधिमा करिब ११ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । बाँकी छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन् । वार्षिक खर्च कटाएर करिब पाँच लाख रुपैयाँ खुद आम्दानी हुने गरेको उनी बताउँछन् ।

    उनको व्यवसाय विस्तारमा स्थानीय सरकारको सहयोगसमेत जोडिएको छ। गोसाइँकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त सात लाख रुपैयाँ अनुदानले चौँरीपालनलाई व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ । आफ्नै मेहनत, अनुभव र सरकारी सहयोगलाई सदुपयोग गर्दै उनले पुख्र्यौली पेसालाई व्यावसायिक उद्यममा रूपान्तरण गरेका छन् ।

    नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठसमेत निर्माण गरेका पासाङ अब यो व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नयाँ पुस्तासम्म पुर्‍याउन चाहन्छन् । उनका लागि चौँरीपालन केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाले हस्तान्तरण गरेको परम्परा र पहिचान पनि हो ।

    “अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,” पासाङ भन्छन्, “हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ ।”

    गाउँमै बसेर उद्यम गर्न सकिन्छ भन्ने उनको अनुभवले विदेशिने तयारीमा रहेका युवालाई पनि स्थानीय सम्भावनाबारे सोच्न प्रेरित गरेको छ । पुर्खाको पेसालाई आधुनिक र व्यावसायिक ढङ्गले अघि बढाउन सके स्थानीय स्रोतसाधनबाटै रोजगारी र आम्दानी सिर्जना गर्न सकिने उनको विश्वास छ ।

    गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ पासाङलाई गाउँपालिकाकै उदाहरणीय तथा नमुना किसानका रूपमा लिन्छन् । उनको मेहनत र लगनशीलताले स्थानीयस्तरमा चौँरीपालनको सम्भावना देखाएको अध्यक्ष तामाङको भनाइ छ ।

    त्यस्तै, गाउँपालिका–६ का वडाध्यक्ष कर्मा दावा सिदार वाइबा पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई पनि आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताउँछन् । “विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,” उनी भन्छन् ।

    परिवारको १० वटा चौँरीबाट सुरु भएको पासाङको यात्रा अहिले ६० वटा चौँरी र करिब ४५ लाख रुपैयाँको व्यवसायसम्म आइपुगेको छ । उनको यो यात्राले पुख्र्यौली पेसालाई आधुनिक व्यावसायिक सोचसँग जोड्न सके गाउँमै पनि आर्थिक अवसर सिर्जना गर्न सकिन्छ भन्ने देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images