images
images
  • चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २०० रुपैयाँ, अनुदानको नुन गाउँसम्मै पुग्दैन

    काठमाडौं – बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगका विकट बस्तीमा भने २०० रुपैयाँसम्म पर्ने गरेको छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानी खर्च महँगो भएपछि चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुसँगै नुनसमेत चर्को मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

    नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको नौ रुपैयाँ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

    मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा एक प्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताए ।

    उनका अनुसार पाङसिङबाट साम्दोसम्म नुन ल्याउँदा प्रतिप्याकेट ढुवानी भाडा मात्रै १०० रुपैयाँ पर्छ। आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च जोड्दा लागत थप बढ्छ । त्यसमा व्यवसायीले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा नुनको मूल्य २०० रुपैयाँ पुग्ने गरेको उनले बताए ।

    सामागाउँभन्दा केही तल वडा नं. २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ पुगेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट १०० रुपैयाँमा नुन पाइने स्थानीय काल्देन छेवाङले बताए।

    पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ रुपैयाँ भाडा लाग्ने गरेको उहाँको भनाइ छ । वर्षायाममा भने ढुवानी भाडा बढेर प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने गरेको छ। त्यसअनुसार दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने गरेको उनले बताए।

    वडा नं. ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिप्याकेट नुनको मूल्य १०० देखि १७० रुपैयाँसम्म पर्ने स्थानीयवासी बताउँछन् ।

    चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयो नुनको १८० देखि २०० रुपैयाँसम्म तिर्नुपर्छ । पाङसिङबाट डेढदेखि दुई दिनको पैदल दूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्ने गरेको छ ।

    त्यस्तै, लामागाउँसम्म प्रतिकिलो ५५ रुपैयाँ र छेकम्पारको छेकम गाउँसम्म ५० रुपैयाँ ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिए । छेकम्पारका बस्तीमा एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ पर्ने गरेको छ ।

    गाउँपालिका–६ चुम्लिङमा भने एक प्याकेट आयो नुनको १०० रुपैयाँ पर्ने स्थानीय गोपाल लामाले बताउनुभयो। उहाँका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ३० रुपैयाँ भाडा लाग्छ ।

    अनुदानको नुन लक्षित बस्तीमा पुगेन

    सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम कार्यान्वयनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ ।

    कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिनुभयो। उहाँका अनुसार कर्पोरेसनले मागअनुसार प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाउने गरेको छ । पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ ।

    तर, सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन। अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए ।

    सरकारले जगतसम्म मात्रै नुन पुर्‍याउन ढुवानी अनुदान दिने गरेको र त्यहाँबाट सामागाउँ तथा साम्दो पुग्न चार दिन र छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले स्थानीयले थप ढुवानी खर्च बेहोर्नुपरेको उहाँको भनाइ छ ।

    सडक विस्तारमा ढिलाइ, खच्चडमै निर्भरता

    चुमनुब्री गाउँपालिकामा सडक पहुँचको अभाव नै महँगीको प्रमुख कारण बनेको छ। नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ। तर, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ ।

    बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ। बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण निर्माणले गति लिन सकेको छै। फलस्वरूप चुमनुब्री गाउँपालिकाका वडा नं. ३ सिर्दिबासबाहेक अन्य छवटा वडा अझै सडक सञ्जालबाट टाढा छन् ।

    मोटर पुगेको वडा नं। ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो। मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्‍याउँदा प्रतिकिलो १०० रुपैयाँ ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले बताए। तीन दिनको पैदल यात्रापछि गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च नै प्रतिकिलो १०० रुपैयाँ पर्ने उहाँको भनाइ छ ।

    सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा समेत नुन सस्तो छैन। स्थानीय कुमारी गुरुङका अनुसार बजारमा प्रतिप्याकेट ३० रुपैयाँ पर्ने आयो नुन फिलिममा ६० रुपैयाँ पर्छ। आर्खेटबाट फिलिमसम्म खाद्यान्न ल्याउँदा लाग्ने ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उहाँले बताए ।

    सडक पूर्वाधारको अभाव र सरकारी अनुदानको वितरण प्रणालीमा देखिएको पहुँचको समस्याले चुमनुब्रीका बासिन्दाले सामान्य उपभोग्य वस्तुका लागि समेत दोब्बरदेखि सात गुणासम्म बढी मूल्य तिर्नुपरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images