काठमाडौं – न्युजिल्यान्डको उत्तरी टापुको दक्षिणी तटीय क्षेत्रमा करिब ५० वटा पाइलट ह्वेल अलपत्र परेका छन् । तीमध्ये धेरैको मृत्यु भएको छ भने जीवित रहेका ह्वेललाई उद्धार गरी पुनः समुद्रमा फर्काउने प्रयास भइरहेको छ ।
न्युजिल्यान्डको संरक्षण विभागका अनुसार उत्तरी टापुको दक्षिणी बिन्दु केप प्यालिसर नजिकै रहेको न्गावी तटमा कम्तीमा २० वटा पाइलट ह्वेल अलपत्र अवस्थामा फेला परेका थिए। उद्धारका लागि विभागले स्थानीय माओरी समुदाय र समुद्री जीव उद्धारमा विशेषज्ञ संस्था ‘प्रोजेक्ट जोनाह’सँग सहकार्य गरिरहेको छ ।
विभागका अनुसार अहिलेसम्म दुई वटा ह्वेललाई सफलतापूर्वक समुद्रमा फर्काइएको छ। तर, स्थानीय बासिन्दाले रातभरमा तटीय क्षेत्रमा करिब ५० वटा ह्वेल अलपत्र परेको बताएका छन्। धेरैजसो ह्वेल चोटपटकका कारण मरेका छन् भने जीवित रहेका ह्वेललाई पानी र भिजेका तौलियाको सहायताले ओसिलो राख्ने प्रयास भइरहेको छ ।
स्थानीय बासिन्दा रब बार्घले रेडियो न्युजिल्यान्डसँग घटनालाई निकै भयावह भन्दै जीवित रहेका ह्वेलको अवस्था पनि गम्भीर रहेको बताएका छन् ।
यसैबीच, ‘प्रोजेक्ट जोनाह’ले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत चार वटा ह्वेल अझै जीवित रहेको जानकारी दिएको थियो। समुद्रमा पानीको सतह बढ्ने उच्च ज्वारभाटाको समयमा ती ह्वेललाई पुनः समुद्रमा फर्काउने प्रयास गरिने संस्थाले जनाएको छ ।
न्युजिल्यान्ड र छिमेकी अस्ट्रेलियाका समुद्री तटमा ह्वेल अलपत्र पर्ने घटना बेलाबेलामा हुने गरेका छन्। यी क्षेत्रमा गहिरो समुद्रमा पाइलट ह्वेलको ठूलो समूह पाइने भएकाले सामूहिक रूपमा तटमा फस्ने घटना देखिने गरेको छ ।
ह्वेल किन यसरी सामूहिक रूपमा समुद्री तटमा अलपत्र पर्छन् भन्ने विषयमा भने वैज्ञानिकहरूले अहिलेसम्म निश्चित कारण पत्ता लगाउन सकेका छैनन्। समुद्री वातावरण, दिशानिर्देशनमा हुने समस्या तथा समूहका सदस्यबीचको सामूहिक व्यवहारलाई सम्भावित कारणका रूपमा अध्ययन गरिँदै आएको छ ।





















