images
images
  • अफ्रिकामा इबोलाको प्रकोप तीव्र, ५ हजारभन्दा बढीको मृत्युः दुई नयाँ खोप परीक्षणमा

    काठमाडौं – अफ्रिकाका विभिन्न देशमा फैलिएको इबोलाको प्रकोपले गम्भीर रूप लिएको छ । बुन्डिबुग्यो नामक इबोलाभाइरसका कारण फैलिएको सङ्क्रमणबाट नोभेम्बर १ सम्म ५ हजार १३० जनाको मृत्यु पुष्टि भएको छ भने १० हजार ५६३ जना सङ्क्रमित भएका छन् ।

    अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र का अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआर कङ्गो० मा सबैभन्दा बढी सङ्क्रमण र मृत्यु भएका छन् । यसबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि यस प्रकोपसँग सम्बन्धित सङ्क्रमण पुष्टि भएको छ ।

    सन् २०२६ को मे महिनामा डीआर कङ्गोमा सुरु भएको यो प्रकोपले सीमापार फैलिने जोखिम बढाएपछि विश्व स्वास्थ्य संगठन ले यसलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

    यसैबीच, विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो भाइरसविरुद्ध विकास गरिएका दुई सम्भावित खोपलाई क्लिनिकल परीक्षणमा समावेश गर्न सिफारिस गरेको छ। नोभेम्बर ४ मा सार्वजनिक विज्ञप्तिअनुसार अक्सफोर्ड विश्वविद्यालय र भारतको सिरम इन्स्टिच्युटले विकास गरेको तथा अमेरिकी कम्पनी मोडेर्नाको खोप परीक्षणमा समावेश गरिने भएका छन् ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यी खोप परीक्षणमा प्रवेश गर्नु विज्ञान र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। खोप परीक्षणबाट प्राप्त प्रमाणले भविष्यमा सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

    दुवै खोपलाई परीक्षणमा समावेश गर्ने निर्णय भए पनि तिनले सम्बन्धित देशको आवश्यक स्वीकृति पाएपछि मात्रै परीक्षण अघि बढ्नेछ । प्रारम्भिक परीक्षणको नतिजा सन् २०२७ को सुरुवातमा आउने अपेक्षा गरिएको छ ।

    के हो बुन्डिबुग्यो भाइरस ?

    बुन्डिबुग्यो इबोलाभाइरस इबोलाभाइरसको छुट्टै प्रजाति हो। यसलाई सामान्य अर्थमा नयाँ भेरियन्ट भन्नुभन्दा इबोलाको छुट्टै प्रजाति भन्नु वैज्ञानिक रूपमा उपयुक्त हुन्छ ।

    इबोला एक गम्भीर सङ्क्रामक रोग हो, जसले मानिसमा उच्च ज्वरो, कमजोरी, मांसपेशी दुखाइ, टाउको दुखाइ, बान्ता, पखाला तथा कतिपय अवस्थामा आन्तरिक र बाह्य रक्तस्राव गराउन सक्छ। समयमै उपचार र उचित स्वास्थ्य सेवा नपाएमा यसले ज्यानसमेत लिन सक्छ ।

    यो रोग मुख्यतः सङ्क्रमित व्यक्ति वा मृतकको रगत तथा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्कबाट सर्छ। दूषित सामग्री र सङ्क्रमित व्यक्तिको शरीरसँग सम्पर्कमा आएका वस्तुबाट पनि सङ्क्रमण फैलिन सक्छ ।

    किन चिन्ताको विषय बनेको छ ?

    बुन्डिबुग्यो भाइरसका लागि अहिलेसम्म कुनै खोपले नियमित प्रयोगका लागि अनुमति पाएको छैन। यसै कारण यसको प्रकोप नियन्त्रण गर्न स्वास्थ्यकर्मीलाई थप चुनौती भइरहेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार हाल जारी टुमाइनी नामक परीक्षणमार्फत विभिन्न खोपको प्रभावकारिता मूल्याङ्कन भइरहेको छ। यसमा सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई लक्षित गरी खोप परीक्षण गर्ने विधि अपनाइएको छ ।

    खोप परीक्षणसँगै सङ्क्रमितको उपचार, सम्पर्कमा आएका व्यक्तिको पहिचान, निगरानी र सङ्क्रमण रोकथामका उपायलाई तीव्र बनाइएको छ ।

    विश्व स्वास्थ्य संगठनले सङ्क्रमणको जोखिम रहेका क्षेत्रमा निगरानी, स्वास्थ्य परीक्षण र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images