काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ ।
आजको पहिलो खेलमा सुदूरपश्चिम र कर्णाली दुवै जितको खोजीमा मैदान उत्रनेछन्। कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । लगातार दुई खेल जितेर प्रतियोगिताको सुरुआत गरेको कर्णाली पछिल्लो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको थियो ।
कर्णाली आज सुदूरपश्चिमलाई हराउँदै तेस्रो जित निकाल्ने योजनामा छ। यता सुदूरपश्चिमले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। ऊ आजको खेल जितेर अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न चाहन्छ ।
आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। पोखरा प्रतियोगितामा अहिलेसम्म जितविहीन छ । तीन खेल खेलेको पोखराले सबै खेलमा हार बेहोरेको छ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आज चितवनलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
चितवन भने पोखरालाई हराएर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । चार खेल खेलेको चितवनले दुईमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।




















