काठमाडौं– जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो अपराजित यात्रालाई कायम राख्दै तालिकामा शीर्षस्थानमा अड्डा जमाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गरेको हो । यस जीतसँगै ४ खेलमा ७ अङ्क जोड्दै लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमै रहेको छ ।
लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे । त्यस्तै त्रितराज दासले १८ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै शेर मल्ल र तिलक भण्डारीले समान २÷२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो ।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २÷२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे ।
यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । दुई जीतबाट जनकपुरको ४ अङ्क छ ।
साविक विजेता लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अङ्क बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।




















