images
images
  • तिहारमा चिल्लो र मसलादार खानेकुराले बिगार्न सक्छ स्वास्थ्य, यसरी अपनाउनुहोस् सावधानी

    काठमाडौं – नेपालीको प्रमुख चाड तिहारमा मिठाई, सेलरोटी, विभिन्न परिकार तथा चिल्लो र मसलादार खानेकुराको सेवन बढी हुने गर्छ । चाडपर्वको रमाइलोमा खानपानमा ध्यान नदिँदा भने पाचनसम्बन्धी समस्या तथा अन्य स्वास्थ्य समस्या देखिन सक्छन् ।

    विशेषगरी अत्यधिक चिल्लो, गुलियो, नुनिलो र मसलादार खानेकुराको सेवनले अपच, पेट फुल्ने, अमिलो डकार आउने तथा असहजता निम्त्याउन सक्छ। त्यसैले तिहारको समयमा खानपानमा सन्तुलन मिलाउनु आवश्यक हुन्छ ।

    स्वस्थ्य तरिकाले तिहार मनाउन सबैभन्दा पहिले खानेकुराको मात्रा नियन्त्रण गर्नुपर्छ । मिठाई तथा चिल्ला परिकार एकैपटक धेरै खानुभन्दा थोरै मात्रामा स्वाद लिनु उपयुक्त हुन्छ । नियमित खानाको समय पनि सकेसम्म मिलाउनुपर्छ ।

    त्यस्तै, अत्यधिक चिनी र कृत्रिम रङ मिसाइएका मिठाईको सट्टा घरमै तयार गरिएका सफा तथा गुणस्तरीय परिकारलाई प्राथमिकता दिनुपर्छ । मिठाईको विकल्पमा ताजा फलफूल, काजु, बदाम, किसमिस तथा खजुर खान सकिन्छ । यस्ता खानेकुराको सेवन गर्दा पनि मात्रा भने मिलाउनुपर्छ ।

    तिहारको समयमा पर्याप्त पानी पिउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। पानीले शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न र पाचन प्रक्रियालाई सहयोग पुर्‍याउँछ । चिनी मिसाइएका पेय पदार्थ तथा अत्यधिक गुलिया पेयको सेवन घटाउनु राम्रो हुन्छ ।

    चाडपर्वको व्यस्तताका कारण शारीरिक गतिविधि कम हुन दिनु हुँदैन । दैनिक केही समय हिँड्ने, योग गर्ने वा सामान्य व्यायाम गर्ने बानीलाई निरन्तरता दिनुपर्छ । खाना खाएलगत्तै सुत्ने वा लामो समय निष्क्रिय भएर बस्ने बानीबाट पनि बच्नुपर्छ ।

    बजारमा खुला राखिएका, लामो समयदेखि भण्डारण गरिएका वा अस्वस्थकर तरिकाले तयार पारिएका खानेकुराको सेवन नगर्नु राम्रो हुन्छ। घरमै सफा वातावरणमा गुणस्तरीय सामग्री र उपयुक्त तेल प्रयोग गरेर बनाइएका ताजा परिकार खानु स्वास्थ्यका दृष्टिले सुरक्षित हुन्छ ।

    त्यसैगरी, चिल्लो तथा गुलिया परिकारसँगै सलाद, हरियो सागसब्जी, फलफूल र फाइबरयुक्त खानेकुरा पनि खानुपर्छ । यसले पाचन प्रक्रियालाई सहयोग पुर्‍याउँछ र खानपानमा सन्तुलन कायम राख्न मद्दत गर्छ ।

    तिहार खुसी, भेटघाट र मिठास साटासाट गर्ने पर्व हो । तर, पर्वको रमाइलोमा स्वास्थ्यलाई बेवास्ता गर्नु हुँदैन। सन्तुलित खानपान, पर्याप्त पानी र नियमित शारीरिक सक्रियतामा ध्यान दिन सके तिहारलाई स्वस्थ र उल्लासमय बनाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images