images
images
  • तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू

    काठमाडौं – तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न, सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन प्रहरीले विशेष सुरक्षा रणनीति अघि सारेको हो ।

    प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र पारिएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा दियो, बत्ती तथा पटाकाबाट हुन सक्ने आगलागी र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए ।

    उनका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। पटाकालगायत प्रज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र तथा बजारमा विशेष चेकिङ टोली परिचालन गरिएको छ ।

    प्रहरीले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

    चाडपर्वका अवसरमा आयोजना हुने र्‍याली, जुलुस तथा शोभायात्राका क्रममा विभिन्न समुदायबीच विवाद तथा झडप हुन नदिन सुरक्षा व्यवस्था थप मजबुत बनाइएको प्रवक्ता काफ्लेले बताए । राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई पर्न सक्ने असरलाई ध्यानमा राखेर निगरानी बढाइएको उनको भनाइ छ ।

    त्यस्तै, चाडपर्वका नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने तथा जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाका घटना निम्त्याउन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ।

    मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजासामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने कामसमेत भइरहेको छ ।

    प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताए ।

    तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैमा आग्रह गरेको छ । पटका तथा आतिशबाजीको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अंगभंग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न प्रहरीले आग्रह गरेको छ । दुर्घटनामा घाइते भएकाको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गर्न तथा अवैध रूपमा पटका र विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images