काठमाडौं – संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षित आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका व्यक्तिको उद्धार, संरक्षण तथा पुनःस्थापनामा सक्रिय गृहले शिक्षा, सीप विकास र आत्मनिर्भरता अभिवृद्धिमा समेत काम गर्दै आएको छ ।
२०६६ वैशाख १ गतेदेखि भरतपुरमा सञ्चालनमा रहेको संस्थाले हालसम्म आश्रित बालबालिकाको शिक्षा र भविष्य निर्माणमा विभिन्न उपलब्धि हासिल गरेको जनाएको छ । संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन्। त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा र ४६ जनाले प्राविधिक तथा औपचारिक सीपमूलक तालिम लिएर रोजगारी प्राप्त गरेका छन् ।
हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन् । गृहमा हुर्किएका १३ जना अन्य संस्थामा गएको, छ जना वैदेशिक रोजगारीमा गएको र दुई जनाको संस्थाकै अगुवाइमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिइन् ।
संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय प्राप्त गरेका तथा न्यायिक प्रक्रियामा रहेका व्यक्तिको सङ्ख्या ३३४ रहेको छ। संस्थासँग सम्बन्धित चारवटा मुद्दा अझै विचाराधीन छन् । त्यसैगरी, गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ ।
भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन्। उनीहरूमा हिंसा प्रभावित महिला, मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्ति र अनाथ बालबालिका रहेका छन् । आश्रितहरूको दीर्घकालीन व्यवस्थापन र सुरक्षित आवास सुनिश्चित गर्न गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ ।
संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गरेकी छन् भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराएकी छन् । त्यस्तै, ४९ जना दाताको सहयोगमा थप तीन कठ्ठा जग्गा खरिद गरिएको संस्थाले जनाएको छ ।
कुल सात करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको चारतले आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ । गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको गृहले आश्रम निर्माणलाई पूर्णता दिन यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ। संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
अध्यक्ष खरेलले आफ्नो जीवनको सम्पूर्ण समय हिंसा प्रभावित महिला तथा संरक्षणविहीन बालबालिकाको सेवामा समर्पित गरेको उल्लेख गर्दै सचिव अधिकारीले सबैको सहयोगबाट सुविधासम्पन्न आश्रम निर्माण गरी प्रभावितलाई सुरक्षित आवास र पुनःस्थापनाको अवसर प्रदान गर्ने लक्ष्य रहेको बताए ।





















