दोलखा- दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको हृदयाघातका कारण निधन भएको छ । गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तमाङको आज गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका क्रममा निधन भएको हो ।
तामाङ एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए। मुटुको समस्या देखिएपछि मध्यपुर अस्पतालले उनलाई गंगालाल रिफर गरेको थियो।
तमाङलाई हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो शल्यक्रिया गरिएको पारिवारीक स्रोतले जनाएको छ ।
तमाङको निधनको खवरपछि गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा पुगेका छन् ।
अन्दाजी ५० वर्षिय तमाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय तमाङ कांग्रेस र माओवादीको गबन्धनबाट विजयी भएका थिए । उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।





















