काठमाडौं । निवर्तमान मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ राजनीतिक संकल्पलाई सदैव साथ रहने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट निर्विवादरुपमा आफ्नो जिम्मेवारी पूरा गरी बिदा भएका गुरुङले सामाजिक सञ्जालमार्फत आफुलाई विश्वास गरी जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्री ओलीप्रति आभार प्रकट गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनःगठन गरेसँगै सञ्चार मन्त्रालयमा ८ महिना नेतृत्व गरेका मन्त्री गुरुङले सञ्चार क्षेत्रका लागि निकै महत्वपूर्ण काम गर्न सफल भएका छन् । काममा अब्बल गुरुङको कालमा सञ्चार क्षेत्रमा निकै महत्वपूर्ण काम भएको पाइएको छ ।
हार्दिक धन्यवाद तथा आभार :
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री तथा प्रवक्ताको जिम्मेवारीबाट विदा भएको छु । मलाई विश्वास गरी यो जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।
‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने क्रममा महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उल्लेखनीय कार्य गर्नका लागि मलाई सहयोग गर्नुहुने राजनीतिकर्मी, सञ्चारकर्मी, आम नागरिक, विषयविज्ञ, राष्ट्रसेवक कर्मचारी, सामाजिक संघसंस्था तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
हामी यतिबेला कोभिड— १९ महामारीको कारण यो पुस्ताकै सवैभन्दा भयावह मानवीय संकटको सामना गरिरहेका छौ। यसवीच सरकार परिवर्तनको खेल, अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या पनि अनिश्चितामा गुज्रिरह्यो । कुनै पनि दिन मन्त्रालयको कामको सिलसिलामा अन्तिम काम गर्ने दिनको रुपमा लिनुपर्ने स्थिति रह्यो । जतिदिन जिम्मेवारी काँधमा आउँछ, त्यति दिन कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भइरहेँ ।
कोभिड—१९ को पीडामा परेकाहरुको उद्धार, उपचार र सहयोग प्रमुख जिम्मेवारी हुँदाहुँदै आफ्नो क्षमताले भ्याएसम्म उक्त जिम्मेवारीलाई प्राथमिकतामा राखेर सम्पादन गरेँ । त्यससँगै मन्त्रालयको कामलाई विशेष ढंगले इमान्दारीपूर्वक सम्पादन गरियो ।
मन्त्री मात्र हैन, एउटा राजनीतिक पार्टीको जिम्मेवार सदस्य भएको नाताले म र मेरो पार्टी नेकपा एमाले, सरकार र सम्माननीय प्रधानमन्त्रीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेँ । परिणामस्वरुप मेरा १९ महिने मन्त्रीको कार्यकालमा कुनैपनि पक्षले नकारात्मक टिप्पणी, आलोचना गर्ने मौकाको अवसर नदिई मेरो पार्टीे, सम्माननीय प्रधानमन्त्रीज्यू, दोलखावासी जनसमुदाय, शुभचिन्तक, समर्थक र आफन्तहरुले शीर झुकाउनु र पश्चाताप गर्न परेन । यसैलाई नै मैले उपलब्धी र आफ्नो सम्पत्ति ठानेको छु । यसलाई पार्टी, सरकार र दोलखावासीले पक्कै मनन् गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्तमा, मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीपरिषद पुनर्गठन गर्नु भएकोमा हार्दिक स्वागत गर्दछुु । नवनियुक्त मन्त्रीज्यूहरुलाई हार्दिक बधाईँ ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । साथै, समृद्ध नेपालको यात्रामा अविचलित रुपमा लागिरहने र सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ राजनीतिक संकल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण गर्दछु ।


विश्व खबर 



















