काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदनमा सहमति जुटाउन कठिन भएको छ ।
सचिवालय स्रोतका अनुसार कार्यदलले आइतबार तयार पारेको माइन्युटमा अध्यक्ष केपी शर्मा ओलीले दुई विषयमा आपत्ति जनाएका छन् ।
त्यसैकारण केन्द्रीय कमिटी बैठकअघि सोमबार बिहान ९ बजे सचिवालय बैठक बोलाइएको छ ।
ओलीले १३ समूहबाट प्राप्त सुझावलाई कुनै थपघट नगरी प्रतिवेदनको अनुसूचीमा राख्ने प्रस्तावमा असहमति जनाएका छन् ।
त्यस्तै, प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि उनको आपत्ति रहेको स्रोतले जनाएको छ ।
महासचिव शंकर पोखरेलको प्रतिवेदनलाई आधार बनाएर तीनवटा प्रतिवेदनलाई एकीकृत गर्दै कार्यदलले सचिवालयमा प्रस्ताव पेश गरेको थियो ।
तर, ओलीले असहमति जनाएका विषय हटाउन कार्यदलका बहुमत सदस्य तयार नभएपछि आइतबारको बैठक स्थगित भएको थियो ।
सोमबारको बैठकबाट पनि यी दुई विषयमा तत्काल सहमति जुट्ने सम्भावना कम रहेको एमालेका एक पदाधिकारीले बताएका छन् ।


विश्व खबर 




















