images
images
  • ओलीले ल्याए बाँचुञ्जेल एमाले नेतृत्व नत्याग्ने प्रतिवेदन

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछोड्ने स्पष्ट संकेतसहित केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

    प्रतिवेदनमा ओलीले पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभएको भन्दै नेतृत्व विस्थापनलाई मात्रै पुनर्गठन भन्न नमिल्ने तर्क गरेका छन् ।

    पार्टी कस्तो अवस्थामा छ भन्ने विश्लेषण नगरी नेतृत्व परिवर्तन गर्नु पुनर्गठन हुन नसक्ने उनको भनाइ छ ।

    ओलीले एमालेको इतिहासमा भएका तीन पुनर्गठनका उदाहरण प्रस्तुत गर्दै अहिलेको अवस्था तीमध्ये कुनैसँग पनि मेल नखाने दाबी गरेका छन् ।

    उनले केशरजंग रायमाझीको दरबार प्रवेशपछि भएको पुनर्गठन, झापा आन्दोलनबाट भएको दोस्रो पुनर्गठन र २०७५ सालपछि आफ्नो नेतृत्वमा भएको पुनर्गठनलाई उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

    उनले अहिले आवश्यक रहेको विषयलाई रूपान्तरण, जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरणका रूपमा व्याख्या गरेका छन् ।

    रूपान्तरण भनेको पार्टीको इतिहास र परम्परा मेट्नु नभई कार्यशैली, निर्णय प्रक्रिया र जनतासँगको सम्बन्ध बदल्नु भएको ओलीको भनाइ छ ।

    ओलीले एमालेको इतिहासलाई रुखको जरासँग तुलना गर्दै नयाँ पुस्तालाई नयाँ पालुवाका रूपमा व्याख्या गरेका छन् ।

    उनका अनुसार नयाँ पुस्तालाई अघि बढाउन पुरानो पुस्तालाई पूर्ण रूपमा विस्थापित गर्नुभन्दा ज्ञान, अनुभव, जिम्मेवारी र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण आवश्यक हुन्छ ।

    उमेर कम हुनु मात्रै नेतृत्वको योग्यता र उमेर बढी हुनु अयोग्यता नभएको उल्लेख गर्दै ओलीले ऊर्जा र अनुभवको संयोजनबाट पार्टी अघि बढ्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images