काठमाडौं – विश्वव्यापी सवारी तथा सामान ढुवानी सेवा प्रदायक इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सुरक्षित सवारी सञ्चालनसम्बन्धी अनलाइन तालिम’ पूरा गर्ने चालकको सङ्ख्या १ हजार ५०० नाघेको छ ।
सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षाका उपायबारे चालकलाई सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको तालिम १ हजार ५०० भन्दा बढी चालकले सफलतापूर्वक पूरा गरेका हुन् ।
तालिम पूरा गर्ने चालकलाई इनड्राइभले विद्युतीय प्रमाणपत्रसमेत उपलब्ध गराएको जनाएको छ ।
मोबाइलबाटै तालिम लिन सकिने
चालकले मोबाइलबाटै सहज रूपमा पूरा गर्न सक्ने गरी तयार गरिएको तालिममा सुरक्षित रूपमा सवारी सञ्चालन गर्ने तरिका, यात्रुसँग व्यावसायिक व्यवहार गर्ने उपाय तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिको सामना गर्ने व्यावहारिक जानकारी समेटिएको छ ।
करिब २० मिनेटमा पूरा गर्न सकिने तालिमलाई तीन मुख्य भागमा विभाजन गरिएको छ ।
सुरक्षित व्यवहार र व्यावसायिक मर्यादा
तालिमको पहिलो भागमा यात्रुलाई सेवा प्रदान गर्दा सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कायम गर्ने विषय समेटिएको छ ।
यात्रुसँगको व्यवहारमा आवश्यक व्यावसायिक मर्यादा कायम गर्ने तथा सेवा प्रदान गर्ने क्रममा चालकले ध्यान दिनुपर्ने सुरक्षासम्बन्धी विषयमा यस भागमा जानकारी दिइएको छ ।
सडक सुरक्षाका आधारभूत उपाय
दोस्रो भागमा सवारी सञ्चालनका क्रममा अपनाउनुपर्ने सडक सुरक्षासम्बन्धी आधारभूत जानकारी दिइएको छ ।
यसमा सावधानीपूर्वक सवारी चलाउने अभ्यास, बढी भीडभाड हुने क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, अपरिचित स्थानमा सवारी सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय तथा दैनिक यात्रामा उपयोगी सडक सुरक्षा उपाय समेटिएका छन् ।
आपत्कालीन अवस्थामा कसरी प्रतिक्रिया दिने
तालिमको तेस्रो भाग आपत्कालीन अवस्था, घटना जानकारी गराउने प्रक्रिया तथा आपत्कालीन सहायता सुविधाको प्रयोगमा केन्द्रित छ ।
आपत्कालीन अवस्था आइपर्दा चालकले संयमित र सुरक्षित रूपमा प्रतिक्रिया दिने तरिका, घटना भएमा सम्बन्धित पक्षलाई जानकारी गराउने प्रक्रिया तथा इनड्राइभको आपत्कालीन सहायता सुविधा प्रयोग गर्ने तरिकाबारे यस भागमा जानकारी दिइएको छ ।
चालकलाई थप सचेत र आत्मविश्वासी बनाउने उद्देश्य
इनड्राइभ नेपालकी वरिष्ठ चालक सञ्चालन विशेषज्ञ सुनिता जिमी राईले १ हजार ५०० भन्दा बढी चालकले तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताएकी छन् ।
उनका अनुसार चालकहरू दैनिक लामो समय सडकमा रहने भएकाले विभिन्न किसिमका परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । त्यसैले दैनिक काममा प्रत्यक्ष उपयोग हुने सुरक्षा र व्यावसायिक व्यवहारसम्बन्धी जानकारी चालकलाई उपलब्ध गराउनु आवश्यक रहेको उनले बताइन् ।
इनड्राइभले चालकको सुरक्षा र व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता व्यावहारिक तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


विश्व खबर 



















