images
images
  • मेयर साम्पाङविरुद्ध कालेपट्टी बाँधेर काम गर्दै धरानका वडाध्यक्षहरु

    काठमाडौं- धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित भएका छन् । मेयर हर्क साम्पाङ राईले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गरेका हुन् ।

    धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार मेयर साम्पाङ्का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध भएको हो ।
    भट्टराईका अनुसार मेयरका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ ।

    अधिकार क्षेत्रभन्दा बाहिरको उक्त निर्देशन फिर्ता हुनुपर्ने माग वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले गत १ चैतको कार्यपालिका बैठकमा राखेका थिए । जसका कारण बैठकमा विवाद सिर्जना हुँदा कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो ।

    भट्टराईका अनुसार १ चैतमा भएको कार्यपालिका बैठकमा निर्देशन पत्रको विषयमा फरक मत राखेको भन्दै ३ चैतमा मेयर साम्पाङ्ले १० नम्बर वडाका वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए ।

    मेयरको सचिवालयबाट भएको निर्देशन र मेयर साम्पाङ्को स्पष्टीकरण दुवै कदम गलत भएको उनीहरुको भनाइ छ । दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ्को ध्यानाकर्षण गराएको उनले बताए ।‘तर मेयर सा’बले आफूहरुले राखेको मागका बारेमा वेवास्ता गरेपछि बाध्य भएर विरोध स्वरुप कालोपट्टी बाँधेर जनताको काम गरिरहेका छौं’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images