images
images
  • जसपा बिबाद : ठाकुरको संघीय सरकारमा गृहकार्यका बेला,यादव काग्रेससँग प्रदेश २ को सत्ता सहकार्यमा


    काठमाडौ ।जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले संघीय सरकारमा गृहकार्य गरिरहेको बेला अर्का अध्यक्ष उपेन्द्र यादव पनि प्रदेश २ को मन्त्रीपरिषद् हेरफेर गर्ने गृहकार्यमा लागेका छन् ।

    त्यसका लागि यादवले काँग्रेस, माओवादी केन्द्र र एमाले (माधव नेपालपक्ष) सँग छलफल चलाएका हुन् । अध्यक्ष यादवले हिजै मात्र काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज उनले सो पार्टीका उपाध्यक्ष विमलेन्द्र निधिसँग छलफल गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रदेश नम्बर–२ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज विहान निधि निवास मध्यबानेश्वर पुगेका हुन् ।

    केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला यादवले भने निधिसँग कुरा गरी प्रदेश–२ को सत्ता समीकरण बदल्ने तयारी थालेका हुन् ।

    यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरेका छन् । ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको हो’, दाहालले भने । सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

    प्रदेश–२ मा जसपाको यादव निकट लालबाबु राउत मुख्यमन्त्री छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि जसपा विभाजन नजिक पुगेको छ । यसको असर प्रदेश–२ को सरकारमा पर्ने भएपछि यादवले कांग्रेसको समर्थन खोजेको हो ।

    यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको बताएका छन् । स्रोतका अनुसार शुक्रबारको भेटमा निधिसँग यादवले प्रदेश–२ को सरकारमा तत्काल सहभागी हुन प्रस्ताव गरेका थिए ।

    तर तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले प्रस्ताव गरे । यादव जनकपुर जाने समय तय भएकाले छलफल निष्कर्षमा भने पुगेन । तर निधि र यादवबीच फेरि पनि थप छलफल हुने भएको छ । १०७ सदस्यीय प्रदेशसभामा जसपाका ५६ सांसद छन् । जसपाको यादव पक्षसँग २९ र ठाकुर पक्ष सँग २५ जना छन् ।

    त्यस्तै नेकपा एमालेका २१, माओवादी केन्द्रका ११, अन्य दुई सांसद थिए । त्यसमध्ये माओवादी केन्द्रले चार जनालाई निष्कासन गरेकाले प्रदेशसभा १०३ सदस्यीय भएको छ । प्रदेश २ मा सरकार निर्माणका लागि ५२ सांसद आवश्यक पर्छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images