काठमाडौं – नेपाली बजारमा बिक्री हुने खाने तेलको गुणस्तर, शुद्धता र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा कडाइ गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको हो ।
प्रस्तावित मापदण्डमा खाने तेललाई सिधै खान मिल्ने र थप प्रशोधनपछि मात्र प्रयोग गर्न मिल्ने गरी स्पष्ट वर्गीकरण गरिएको छ । सिधै खान नमिल्ने तेल उपभोक्तालाई लक्षित खुद्रा प्याकेटमा बिक्री गर्नसमेत रोक लगाउने व्यवस्था गरिएको छ ।
तोरीको तेलमा कडाइ
विभागले तोरीको तेललाई उत्पादन प्रक्रियाका आधारमा प्रत्यक्ष निचोरेर निकालिएको र रासायनिक माध्यमबाट निकालिएको गरी वर्गीकरण गरेको छ ।
प्रत्यक्ष निचोरेर निकालिएका सबै प्रकारका तथा रासायनिक माध्यमबाट निकालिएको प्रशोधित तेललाई मात्र सिधै खान योग्य मानिएको छ। रासायनिक माध्यमबाट निकालिएको पहिलो श्रेणीको तेल भने थप प्रशोधन गरेर मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सिधै खान नमिल्ने तेलको भाँडामा कम्तीमा ५० मिलिमिटर उचाइका ठूला अक्षरमा ‘सिधै खानका लागि होइन’ भन्ने चेतावनी अनिवार्य रूपमा लेख्नुपर्नेछ ।
तेलमा हानिकारक झार वा अखाद्य तेल मिसिएको हुनु नहुने व्यवस्था गरिएको छ। त्यस्तै, पेरोक्साइडको मात्रा, सिसा, आर्सेनिक, क्याडमियम र पाराजस्ता विषाक्त पदार्थको अधिकतम सीमा पनि तोकिएको छ ।
भटमासको तेलमा पनि नयाँ मापदण्ड
भटमासको तेललाई प्रशोधनको अवस्थाअनुसार प्रशोधित, गम हटाइएको र पहिलो श्रेणीमा विभाजन गरिएको छ । त्यसमध्ये प्रशोधित तेललाई मात्र सिधै खान योग्य मानिएको छ ।
गम हटाइएको र पहिलो श्रेणीको तेललाई वनस्पति घिउ वा प्रशोधित तेल उत्पादन गर्ने कच्चापदार्थका रूपमा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता तेल खुद्रा प्याकेटमा बिक्री गर्न पाइने छैन ।
भटमासको तेलमा विषाक्त ढुसीजन्य पदार्थ अफ्लाटक्सिनको मात्रा अधिकतम ३० माइक्रोग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।
सूर्यमुखी तेलमा पनि कडाइ
सूर्यमुखी तेललाई पनि प्रत्यक्ष निचोरेर निकालिएको र रासायनिक माध्यमबाट निकालिएको गरी वर्गीकरण गरिएको छ ।
दुवै प्रक्रियाबाट निकालिएको प्रशोधित तेल तथा प्रत्यक्ष निचोरेर निकालिएको पहिलो श्रेणीको तेललाई सिधै खान योग्य मानिएको छ । रासायनिक माध्यमबाट निकालिएको पहिलो श्रेणीको तेल भने सिधै खान नमिल्ने भएकाले उपभोक्ताका लागि तयार गरिएको प्याकेटमा बिक्री गर्न रोक लगाइनेछ ।
सूर्यमुखी तेल कृत्रिम रङ तथा स्वादरहित हुनुपर्ने र पेरोक्साइड तथा अफ्लाटक्सिनको मात्रा तोकिएको सीमाभित्र हुनुपर्ने व्यवस्था गरिएको छ ।
भ्रामक दाबी र विज्ञापनमा रोक
प्रस्तावित मापदण्डमा खाने तेलको प्याकेट तथा विज्ञापनमा उपभोक्तालाई भ्रममा पार्ने वा अतिरञ्जित दाबी गर्न रोक लगाइएको छ ।
‘सुपर प्रशोधित’, ‘अतिरिक्त प्रशोधित’, ‘दोहोरो प्रशोधित’, ‘अति प्रशोधित’, ‘कोलेस्टेरोल घटाउने’, ‘मुटुका लागि सुरक्षित’ लगायत उपभोक्तालाई स्वास्थ्यसम्बन्धी भ्रमपूर्ण धारणा दिन सक्ने शब्दावली प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
पुराना भाँडा पुनः प्रयोग गर्न नपाइने
खाने तेल प्याकेजिङमा नेपाल गुणस्तर प्रमाणित टिन वा प्लास्टिकका भाँडा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
एकपटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका भाँडालाई पुनः खाने तेल प्याक गर्न प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, भाँडाको बाहिरी भागमा उत्पादकको नाम, ठेगाना, समूह नम्बर, उत्पादन महिना वा वर्ष तथा खुद तौल नेपाली वा अंग्रेजी भाषामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
नयाँ मापदण्डअनुसार तोकिएका गुणस्तर पूरा गर्ने उत्पादकले मात्र नेपाल गुणस्तरको प्रमाण चिह्न प्रयोग गर्न पाउनेछन् ।
विभागले तयार पारेको प्रस्तावित मापदण्ड कार्यान्वयनमा आएपछि खाने तेलको उत्पादनदेखि प्याकेजिङ र बिक्री वितरणसम्म गुणस्तर तथा उपभोक्ता स्वास्थ्य सुरक्षामा थप कडाइ हुने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















