काठमाडौं – सुत्केरी बिदा कम्तीमा ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।
महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तावकी प्रस्तावक सांसद सीता थपलियाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई मौलिक हकका रूपमा कार्यान्वयन गर्न प्रस्ताव दर्ता गरिएको जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा ३८ को उपधारा ९२० ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने व्यवस्था गरेको छ । यही संवैधानिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न प्रस्ताव ल्याइएको सांसद थपलियाको भनाइ छ ।
उहाँका अनुसार ‘बच्चा जन्माउने र हुर्काउने महिलाको मात्रै जिम्मेवारी हो’ भन्ने सामाजिक सोचका कारण धेरै महिला आमा बन्नबाट पछि हट्ने अवस्था देखिएकाले राज्यले मातृत्वलाई सहज र सुरक्षित बनाउन आवश्यक व्यवस्था गर्नुपर्छ ।
प्रस्तावमा हाल कायम सुत्केरी बिदालाई बढाएर ६ महिना पुर्याउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ। प्रस्ताव कानुन बनेमा श्रमिकदेखि सरकारी सेवामा कार्यरत महिलासम्म सबै सुत्केरी आमालाई लाभ पुग्ने सांसद थपलियाले बताउनुभयो ।
प्रस्तावका समर्थक सांसद सरस्वती लामाले करिब ६ महिनाको प्रयासपछि प्रस्ताव संसद्मा दर्ता गरिएको जानकारी दिनुभयो । उहाँले प्रस्तावलाई थप प्रभावकारी र सान्दर्भिक बनाउन सरोकारवाला पक्षसँग छलफल आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाकी प्रमुख डा गौरी प्रधानले पनि सुत्केरी बिदा ६ महिना पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार आमा र शिशुको स्वास्थ्यका लागि शिशुलाई जन्मिएपछि कम्तीमा ६ महिनासम्म आमाको दूध खुवाउनु महत्वपूर्ण हुन्छ ।
डा प्रधानले सुत्केरी आमालाई मानसिक तथा शारीरिक रूपमा सहज बनाउन पुरुषलाई समेत ४२ दिनसम्म स्याहार बिदा आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले हाल कानुनमा रहेको ९८ दिनको सुत्केरी बिदासमेत कतिपय क्षेत्रमा पूर्ण रूपमा कार्यान्वयन नभएको बताउनुभयो । उहाँले आमा र शिशुको समग्र स्वास्थ्यका लागि कम्तीमा ६ महिनाको तलबी बिदा आवश्यक रहेको धारणा राख्नुभयो ।
मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार उत्तरदायी हुनुपर्ने बताउनुभयो । नागरिकको अधिकार सुनिश्चित गर्न कानुन निर्माणमा मञ्चले सहकार्य गर्ने उहाँको भनाइ छ ।


विश्व खबर 



















