images
images
  • स्वीट्जरल्यान्डमा नेपाली प्रविधि कम्पनीको सेवा प्रदर्शन

    काठमाडौं – नेपाली सूचना प्रविधि कम्पनीहरूले स्वीट्जरल्यान्डको बजारमा आफ्ना सेवा तथा प्रविधि समाधान प्रस्तुत गरेका छन् ।

    स्वीट्जरल्यान्डको ज्युरिखमा आयोजित प्रविधि प्रदर्शनी कार्यक्रममा नेपालका १८ सूचना प्रविधि कम्पनीले आफ्ना सेवा, विशेषज्ञता तथा प्रविधि समाधान प्रस्तुत गरेका हुन् ।

    नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज् ९नास–आइटी०को आयोजना तथा स्विस नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा नेपाली सूचना प्रविधि उद्योग र स्वीट्जरल्यान्डका व्यवसायीबीच सहकार्यका सम्भावना, लगानी तथा नेपाली प्रविधि सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा छलफल भएको नास–आइटीले जनाएको छ ।

    प्रदर्शनीमा सहभागी १८ कम्पनीले छोटो समयभित्र आफ्ना कम्पनी, सेवा र प्रविधिबारे प्रस्तुति दिएका थिए ।

    उनीहरूले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, सफ्टवेयर विकास, उत्पादन विकास, सूचना प्रविधि सेवा तथा व्यवसायिक प्रक्रिया सेवाका क्षेत्रमा आफूले प्रदान गर्दै आएका सेवाबारे जानकारी गराएका थिए ।

    त्यस्तै, आफूअनुकूल वेबसाइट तथा अनुप्रयोग विकास, कम्प्युटर प्रणालीको आधारभूत संरचना तथा तथ्यांक व्यवस्थापनसम्बन्धी सेवासमेत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्र, दक्ष जनशक्ति र सूचना प्रविधि निर्यातको अवस्थाबारे पनि छलफल भएको थियो। नेपाली प्रविधि कम्पनीका सेवा स्वीट्जरल्यान्डसहित अन्य अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने विषयमा जोड दिइएको थियो ।

    नास–आइटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्नुपर्ने बताएका छन् ।

    नेपाली कम्पनी र विदेशी व्यवसायबीच सहकार्यका अवसर पहिचान गर्न प्रविधि प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।

    स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्धका विषयमा जानकारी गराएको थियो । कार्यक्रममा नेपाली प्रविधि कम्पनी र स्विस व्यवसायीबीच सम्भावित सहकार्यबारे समेत छलफल भएको थियो ।

    नास–आइटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले विभिन्न देशमा यस्ता प्रविधि प्रदर्शनी आयोजना गर्दै आएको जनाएको छ ।

    स्वीट्जरल्यान्डमा आयोजित कार्यक्रम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसनलगायत साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images