images
images
  • बैंकहरूको सबैभन्दा बढी क्षेत्रगत कर्जा लगानी भएको कृषि नै बिजोगमा

    काठमाडौं- नेपालमा वाणिज्य बैंकहरुले गत पुस मसान्तसम्म सबैभन्दा बढी क्षेत्रगत कर्जा लगानी कृषि क्षेत्रमा गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा क वर्गका वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा १३ प्रतिशत अर्थात् कूल ५ खर्ब ४३ अर्ब ४७ करोड कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्य उजागर गरेको हो । यद्यपि बैंकहरूले कर्जा लगानी गरेजस्तो नेपालमा कृषि क्षेत्रमा सुधार भने देखिएको छैन । एकातिर कृषि व्यवसायमा लागेका व्यक्तिहरू असफल भएर आत्महत्या गरिरहेका छन् भने अर्कातिर कृषि उपजको उचित बजारमूल्य नपाएर सडकमा मिल्काउन बाध्य भएका छन् ।

    हालै चितवन र झापाका किसानले आयातित तरकारी तथा कुखुराजन्य वस्तुका कारण आफ्ना उत्पादनहरुले मूल्य नपाएको भन्दै सडकमा तरकारी, अण्डा र कुखुरा फालेर विरोध गरेका थिए । कृषि शीर्षकमा कर्जा प्रवाह भए पनि पहुँचवालाले नै उक्त कर्जा दुरुपयोग गर्ने गरेको पाइन्छ ।

    राष्ट्र बैंकको समीक्षा प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ । राष्ट्र बैंकले तोकेकोे विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु घरेलु र साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्छ ।

    सो व्यवस्था अनुसार कृषि क्षेत्रको लगानी लक्ष्यभन्दा २ प्रतिशत बढी हो । त्यस्तै ऊर्जा क्षेत्रमा ६.३ प्रतिशत अर्थात् रु दुई खर्ब ६२ अर्ब ५५ करोड कर्जा लगानी भएको राष्ट्र बैंकले छ । लघु घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा ९.५ प्रतिशत अर्थात् रु तीन खर्ब ९६ अर्ब ९१ करोड कर्जा लगानी रहेको छ ।

    विकास बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु घरेलु तथा साना उद्यमरव्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । गत पुस मसान्तसम्ममा ती क्षेत्रहरुमा औसत २६.६ प्रतिशत अर्थात् रु एक खर्ब १५ अर्ब ७५ करोड बराबर कर्जा लगानी भएको छ ।

    त्यसैगरी वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यमरव्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत पुस मसान्तसम्ममा ती क्षेत्रहरुमा औसत २२ दशमलव चार प्रतिशत अर्थात् रु १९ अर्ब ३३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले छ दशमलव सात प्रतिशत अर्थात् रु दुई खर्ब ८० अर्ब १७ करोड बराबर कर्जा प्रवाह गरेका छन् ।

    त्यस्तै विकास बैंकहरुले ११ दशमलव एक प्रतिशत अर्थात् रु ४८ अर्ब २३ करोड र वित्त कम्पनीहरुको सात दशमलव तीन प्रतिशत अर्थात् रु छ अर्ब २९ करोड कर्जा विपन्न वर्गमा लगानीमा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images