काठमाडौं – नेपाली सेयर बजारमा अब एउटै दिन सेयर किनेर सोही दिन बिक्री गर्न सकिने व्यवस्था ल्याउने तयारी भएको छ ।
नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा अन्तरदिवसीय सेयर कारोबार सञ्चालनका लागि विस्तृत अवधारणापत्र सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।
सरकारको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार तयार गरिएको अवधारणापत्र राय–सुझावका लागि सार्वजनिक गरिएको हो ।
हाल नेपालको सेयर बजारमा सेयर खरिद गरेपछि तोकिएको राफसाफ तथा फछ्र्यौट चक्र पूरा भएपछि मात्र स्वामित्व हस्तान्तरण हुने व्यवस्था छ ।
प्रस्तावित अन्तरदिवसीय कारोबार लागू भए लगानीकर्ताले बजार खुलेपछि सेयर खरिद गरी सोही दिन बिक्री गरेर कारोबारको स्थिति बन्द गर्न सक्नेछन् ।
सुरुमा खरिदपछि बिक्री गर्न पाइने
बोर्डले अन्तरदिवसीय कारोबार चरणबद्ध रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । पहिलो चरणमा लगानीकर्ताले पहिले सेयर खरिद गर्ने र पछि सोही दिन बिक्री गर्ने व्यवस्था मात्र प्रयोग गर्न पाउनेछन् ।
यसपछि आवश्यक कानुनी, प्राविधिक तथा जोखिम व्यवस्थापनको पूर्वाधार तयार भएपछि पहिले बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था पनि लागू गर्ने प्रस्ताव छ ।
यसबाट बजारमा कारोबारको सक्रियता र तरलता बढ्ने, मूल्य निर्धारण प्रक्रिया प्रभावकारी हुने तथा लगानीकर्ताको सहभागिता विस्तार हुने बोर्डको अपेक्षा छ ।
सबै कम्पनीका सेयरमा सुविधा नहुने
अन्तरदिवसीय कारोबार सुरु भएलगत्तै नेप्सेमा सूचीकृत सबै कम्पनीका सेयरमा यस्तो सुविधा उपलब्ध नहुने भएको छ।
पर्याप्त कारोबार हुने, पर्याप्त तरलता भएका, सर्वसाधारणको पर्याप्त सेयर स्वामित्व रहेका तथा संस्थागत सुशासन कायम गरेका कम्पनीका सेयरलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउने प्रस्ताव गरिएको छ ।
अत्यधिक मूल्य उतारचढाव हुने वा न्यून कारोबार भएका कम्पनीलाई यस्तो सूचीबाट बाहिर राखिनेछ। योग्य सेयरको सूची नेप्से र धितोपत्र बोर्डले नियमित रूपमा पुनरावलोकन गर्ने प्रस्ताव छ ।
लगानीकर्ताका लागि छुट्टै योग्यता
अन्तरदिवसीय कारोबार गर्न सक्रिय हितग्राही खाता र कारोबार खाता, अद्यावधिक ग्राहक पहिचान विवरण तथा जोखिमसम्बन्धी स्वीकृति अनिवार्य गरिने प्रस्ताव छ ।
शेयर दलालले पनि ग्राहकको वित्तीय क्षमता, बजारसम्बन्धी ज्ञान र जोखिम वहन क्षमताको मूल्याङ्कन गरेपछि मात्रै यस्तो कारोबारको सुविधा दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
जोखिम बढे स्वचालित रूपमा कारोबार बन्द
अन्तरदिवसीय कारोबारमा जोखिम नियन्त्रणका लागि प्रारम्भिक मार्जिन, कायम राख्नुपर्ने मार्जिन तथा थप मार्जिनको व्यवस्था गरिने भएको छ ।
लगानीकर्ताको कारोबारमा तोकिएको सीमाभन्दा बढी जोखिम देखिए शेयर दलालको जोखिम व्यवस्थापन प्रणालीले चेतावनी तथा थप रकम माग गर्नेछ ।
त्यस्तै, बजार बन्द हुनुअघि लगानीकर्ताले आफ्नो खुला कारोबार स्थिति बन्द नगरेमा तोकिएको नियमअनुसार स्वचालित रूपमा कारोबार बन्द गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
सेबोन, नेप्से र सिडिएससीको भूमिका
अन्तरदिवसीय कारोबार सञ्चालनका लागि नयाँ संस्था स्थापना नगरी विद्यमान संरचनाकै प्रविधि तथा प्रणाली स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ ।
धितोपत्र बोर्डले नीति, नियम तथा मापदण्ड बनाउने, नेपाल स्टक एक्सचेञ्जले कारोबार प्रणाली र बजार निगरानी सञ्चालन गर्ने तथा सिडिएस एन्ड क्लियरिङले कारोबारपछिको अभिलेख मिलान र राफसाफसम्बन्धी काम गर्ने प्रस्ताव छ ।
राय–सुझावपछि परीक्षण
बोर्डले सार्वजनिक गरेको अवधारणापत्रमा सरोकारवाला तथा लगानीकर्ताबाट प्राप्त राय–सुझाव समेटेर आवश्यक नियम, कार्यविधि र मापदण्ड तयार गरिने जनाएको छ ।
त्यसपछि प्राविधिक परीक्षण, नमुना सञ्चालन र तयारीको मूल्याङ्कन पूरा गरेर मात्रै नेपाली सेयर बजारमा अन्तरदिवसीय कारोबार औपचारिक रूपमा सुरु गर्ने प्रस्ताव गरिएको छ ।


विश्व खबर 

















