काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दुई दशक पूरा गरेको अवसरमा आगामी १६ असोज २०८३ मा २०औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। साधारणसभामा शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल निक्षेप ७ खर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ रहेको छ ।
नाफा १५.९० प्रतिशतले बढ्यो
बैंकले आर्थिक वर्ष २०८२र८३ मा ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो ।
सो अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ ।
६ प्रतिशत नगद, ४ प्रतिशत बोनस
बैंकले साधारणसभामा शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । प्रस्तावअनुसार ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गरिनेछ ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै लाभांश वितरण हुनेछ। ४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिब ३९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार स्थापनादेखि हालसम्म प्रस्तावित लाभांशबाहेक प्रतिशेयर २३६ रुपैयाँ १२ पैसाबराबरको नगद तथा बोनस शेयर वितरण भइसकेको छ । यसमध्ये प्रतिशेयर ७९ रुपैयाँ २० पैसा नगद लाभांश र १५६ रुपैयाँ ९२ पैसा बराबरको बोनस शेयर रहेको छ ।
३४१ शाखा, ३६६ एटीएम
दुई दशकको अवधिमा बैंकले आफ्नो सेवा सञ्जाल पनि विस्तार गरेको जनाएको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा तथा ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् ।
विदेशमा समेत बैंकका तीन वटा प्रतिनिधि कार्यालय रहेका छन्। विभिन्न सेवा माध्यमसहित देशभर १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकको दाबी छ ।
बैंकले आगामी दिनमा व्यवसाय विस्तारसँगै डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, कर्जा गुणस्तर र शेयरधनीलाई दिगो प्रतिफल सिर्जनामा जोड दिने रणनीति लिएको जनाएको छ । वित्तीय आधार थप सुदृढ गर्दै व्यवसाय विस्तार र शेयरधनी प्रतिफलबीच सन्तुलन कायम गर्ने बैंकले जनाएको छ ।


विश्व खबर 

















