जलेश्वर- महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो।
महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई आजीवन कारावासको सजाय सुनाएको हो।
साथै पीडित परिवारलाई एक लाख क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको हो। विसं २०७७ मङ्सिर ७ गते आइतबारका दिन अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरी घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरी बोरामा राखेर फालिदिएको अवस्थामा उनको शव मङ्सिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो।
बयानका क्रममा साहलाई आरोप स्वीकारे थिए । पुर्पक्षकै क्रममा जेलमा रहेका साहलाई जन्मकैद सुनाइएको हो ।
पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास–१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागी मृत्यु भएको थियो।
सोही घटनाको महोत्तरी जिल्ला अदालतमा सोमबार भएको अन्तिम सुनुवाइ (पेसी) मा दोषी साहलाई अदालतले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको हो।

घर स्थानीयको नियन्त्रणमा
बालिका गुलाब साह खातुनको हत्यामा दोषी ठहर भएका अरुण साहको घर स्थानीयको नियन्त्रणमा छ । गौशाला स्थायी घर भएका साहको बर्दिबासस्थित घर स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
घरको भित्तामा ‘यो अपराधीको घर हो, यसलाइ किन्ने प्रयास नगर्नुहोला’ भनेर लेखिएको छ । सोही बेला स्थानीयले घरमा आगजनीसमेत गरेका थिए ।
सो घरमा कोही बसेका छैनन् भने घरभित्र जलेर नष्ट बनाइएको खरानीबाहेक केही पनि छैन ।
घर वरिपरि झारपात पलाएको छ भने शुभम बस्तीको बीचमा ठडिएको यो घर पूर्णरुपमा एक्लिएको छ । अपराध गर्ने जोकोही कानुनको मात्र हैन सामाजिक सजायको पनि भागीदार पनि बन्नुपर्छ भन्ने सो घरको अवस्थाले सन्देश दिएको छ ।





















