काठमाडौं- गाउँकै स्कुलबाट ‘एसइई’ दिए । रिजल्टमा ‘बी प्लस’ आयो । हाम्रो स्कुलका लागि यो नतिजामा म प्रथम भए । बा आमाको लगानी र मेरो मेहेनतले त्यहि आएको रिजल्टमा म यति खुशी भए कि सायदै अरुबेला हुन सकेको थिएन । खुसिले साथी भाइलाई पार्टी पनि दिए । रिजल्ट आएको पनि महिना दिन भैसके छ । संगैका अनिल,विशाल, भावना र नरेहरु कम्प्युटर सिक्दै रहेछन भने हरि, दिनेश, बिनिता हरु बृज कोर्श गर्न गएछन । म घरमै बा आमा लाई सघाउदै थिए ।
एक दिन ‘एसइई’ त पास भैयो अब बाकी चाहि के पड्ने होला कहाँ पढ्ने होला भने प्रश्न उब्जियो । आकश दाइको याद आयो । आकश दाइ कान्छा अंकलको छोरा हो । काठमाडौमा इन्जीनीयर पढेर उतै जागिर गर्छ भन्थे । एक चोटि आकाश दाइ लाई फोन गरौ लाग्यो । आफ्नो फोन थिएन । कान्छा अंकल घर आको दिन मैले दाइ लाई फोन गरे र ‘बि प्लस’ ल्यायर स्कुल प्रथम भएको कुरा बताए । दाइले बधाई भन्यो । अनि अब क्या पढ्दा निको होला दाई ? काँ पढौँ ? । घरमा आमा बाउको अबस्था थाहा नै छ दाइ के गरौ ? भने । दाइले भन्यो हेर अब तेरो नंम्बर र मेहेनत हेर्दा त ‘प्लस टु’ साइन्स लिएर पढना जसो छ तर हाम्रो जस्तो आर्थिक अबस्था कमजोर भएको मान्छेलाई ‘प्लस टु’ साइन्स पढेर झन बेजोग हुन्छ हेर । ल मानौ तैले ‘प्लस टु’ साइन्स पास गरिस त्यसपछी के गर्छस ? डक्टर इन्जीनीयरिङ् पढ्न हामी नसक्ने गरेर बाहिर जान लाई पनि हाम्रा बसको कुरा छैन । त्यो भन्दा बरु केही टेक्निकल पढ जेठा बा जेठिआमा को पनि रोजगारी छैन । त्यैले टेक्निकल पढेर सकिस भने छिट्टो जागिर पनि पाइएला । बरु रिन हर्याको पन छिट्टै तिर्न सकियला । बरु एचए, आइएसएजी, ओभरसेयर केही पढ । सिटींइभीटी फारम खुलेको छ बरु सदरमुकाम गएर भरिहाल । मैले हस हुन्छ भने । अहिले सम्झिन्छु त्यो बेला आकाश दाइले भनेको कुरा । हो, हामी जस्ता दिमाग भएर पनि कमजोर भएका हरुलाई ‘प्लस टु’ साइन्स टपर भएर पनि काम रैनछ ।
सदरमुकाम गए । ‘सिटिइभीटी’ मा दिपायल छात्रवृत्ति र पइेमेन्ट दुबैमा फारम भरे । नौल्या काका संग बल्द बेच्याका ८००० रुपियाले दिपायल गएर प्रबेश परिक्षा दिएर घर फर्किए । हप्ता दिनपछी विशालले भन्यो बधाई छ यार । म किन भन्दै आत्तिए । उसले मोबाइलमा देखायो ‘सिटीइभीटी’को रिजल्ट आयो तेरो नाम निस्कियो ‘एचए’ पढ्न पाउने भइस धनगढीमा ।
खुशीले सीमा नाघ्यो । हतार हतार खै देखा त भने। देखायो तर पेमेन्टमा रैछ । छात्रवृत्तिको त प्रतीक्षा सूचीमा ११ नम्बरमा रैछ । घर गएर बालाइ सुनाए । बा अस्ति मेघले भत्क्याको बान्नु चिन्दा रैछन । भने बुवा अस्ति दिपायल दिएको परीक्षामा मेरो नाम आयो म पास भए। तर छात्रवृत्ति होइन पैसा तिरेर मात्र पढ्न पाइने भयो । ‘बा’ को मुहारमा खुसी देखिए पनि कसरी पैसा तिरेर पठाउने भन्ने कुरा मा चिन्तित नै देखिन्थे । खासै बोलेन बरु एक डोको ढुङा ल्याउन लाए । खबर गाउभरि पुग्यो रैछ । सबै बधाइ छ अब तम्रो छोरो डाक्टर हुदो भयो भनी बा आमा कन भन्न थाले । ‘बा’ आमा तिनिहरुको बधाई भन्दा पनि कसरी छोराको आयाको नाममा पढाउन्या भन्न्या कुरामा चिन्तित देखिन्थे । नभन्दै बहिनीले भनी ‘एच ए’ पढन त ३ लाख ७५ हजार फि लाग्दो रैछ। म पनि सोचमग्न भए । एक छिन टोलाए । ‘बा’ले रिन गाडेर भएपनी छोरा पढाउला । चिन्ता नगर भने । म गए आफ्नो ओछ्यान तिर ।
बेलुका सुत्न खोज्दै थिए निन्द्रा लाग्ने कुरै भएन । यसो सोचे एकातिर ‘बा’ले पैसाको जोहो कसरी गर्लान्। यदि गरिहाले भने पनि ३ लाख ७५ हजार त ‘फि’ नै छ । तीन बर्षसम्म बस्नु पर्यो खानु पर्यो कापी किताब चाहिएला । यही पीरले अबेरसम्म ब्युझै थिए । कतिबेला सुते पत्तो पाइन । भोलि पल्ट दिउसो एक्लै बनमा गोरु चराउन गएको बेला यसो सम्झे ‘एसइई’ पास हुदा जति खुसी भएको थिए त्यति खुसी अहिले छैन । जिन्दगीमा धेरै बर्षपछि पाएको सानो खुसी पनि क्षणभरमै हराउदो रैछ ।
‘बा’ले धनगढीमा भए पनि पढाउने निधो गरे । ‘बा’लाई यत्ती आश छ छोराले ‘एचए’ पढिसक्यापछि डाक्टर हुन्या हो र पक्कै जागिर खाइहाल्न्या हो । यहि आशले पनि बाले जेनतेन गरि मलाई पढाउन धनगढी पठाए । म कलेज गए । पहिलो दिन गाउँको स्कुलमा पढेको म, अंग्रेजी खासै नआउने कसो होला? के होला? भन्ने डर लागिराकोथियो । कलेजको अभिमुखीकरण कार्यक्रम भयो । त्यही अभिमुखीकरणमा मिलन पनि देखियो । मिलन हाम्रै गाउका नेता अंकलको छोरो हो । उ पनि संगै देखेपछी म खुशी भए । केही दिन पछि हामी एउटै कोठा लिएर बस्न थाल्यौँ । उ अलि नेता कै छोरो पर्यो । लुगा लवाई, खवाई र चहल-पहल अर्कै थियो । उसले धनगढी तिर साथिहरु धेरै नै बनाइसकेको थियो । कलेज भन्दा पनि बाहिरका साथी र दाइहरु धेरै थिए । केटी साथी त झन कति कति ! खासै कलेज पनि जादैन थ्यो । धेरैजसो साथीकोमा छु यतै बस्छु भन्थ्यो ।
पहिलो बर्षको परीक्षा भयो । दोस्रो बर्ष लगत्तै लागिहाल्यो । दोस्रो बर्षको परीक्षा हुनुभन्दा पहिले प्रथम बर्षको रिजल्ट आयो । Physics chemistry biological जस्ता विषयमा कम नम्बर आएपनी म पहिलो बर्षमै पास भए । बाउलाई सुनाए । कलेजले ‘फि’ माग्यो बाउले भनेकै बेला पठाइदिए । दोस्रो बर्षको परिक्षा दिए । मिलनले दुई वटा परिक्षा नदिने कुरा गर्यो । मलाइ घरमा नभनिदिनु भन्यो । उ पहिलो बर्षमा पनि फेल भएको थियो । मैले पनि घरमा भनी दिएन । पछि हप्ता दिन पछि थाहा पाए उ बिद्यार्थी संगठनको कार्यक्रममा गएको रैछ । जहाँ काठमाडौ बाट केन्द्रीय नेता आएको रहेछ । फेकबुक मा पनि नेता कै पोस्टहरु गर्थ्यो जन्मदिनको शुभकामना देखि सुभयात्रा सम्म नेता कै हुन्छन यदि उस्को फेसबुक टाइमलाइन खोल्ने हो भने पनि यहि देखिन्क्थ्यो । २०७४ सालको चुनाबमा त उ कलेज को परीक्षा छोडेर घर आएको थियो स्थानिय चुनाबमा प्रचारप्रसार गर्न । म सोच्थे उ नेता बन्नु पर्ने मान्छे हो किन एचए पढ्न आएछ यस्ता ले पनि के एचए पढ्ला र जागिर खाला रु उ खासै कोठा नबस्ने र बाहिर धेरै हुने भयो । एक दिन आयो र आफै सामान लगेर गयो ।
२०७३ मा पढ्न सुरु गरेको ‘सिटिइभीटी’ले समयमै नगरेको र रिजल्ट ननिकालेकाले ४ बर्ष लगाए ७७ मा पास भए । राम्रै अंक आयो । कलेजले सम्मान पनि गर्यो । कोरोना आयो । गाउँ फर्किए । गाउमा बा आमा लाई तेरो छोरो अब त डाक्टर भैसक्यो भन्न थाले । हुन पनि हो म गाउघरको सामान्य डाक्टर भैसकेको थिए तर जागिर खान बाकी थियो ।
अब ‘एचए’ त पास गरियो । जागिर कसरी खाने भन्न कुराले पिरोल्न थाल्यो । धेरै नै भाको थियो लोकसेवाले बिज्ञापन निकाल्यो । आवेदन दिए । जेनतेन भाडा ब्यबस्था गरि परीक्षा दिन गए । नाम निस्केन । धेरै नै प्रतिस्पर्धा रैछ। लोकसेवाका लागि अनि कलेजको पढाइ भन्दा दोब्बर पढ्नु पर्ने रैछ त्यो पनि एकदम थोरै कोटा खोल्ने रैछ ।
फेरि जिल्ला अस्पतालले विज्ञापन निकाल्यो। परीक्षा दिए बैकल्पिक मा फालिदियो । स्वास्थ्य कार्यालयले को परीक्षाम पनि बैकल्पिकमा परे । लोक सेवाका लागि पढम भनेर अहिले राजधानी तिरको बसाइ छ । धेरै ठाउँ दिए नाम आएन । काठमाडौंमा निजी मेडिकल र अस्पतालमा जागिर खान गार्हो छ । न चिनेजानेका कोइ छन ।
धेरै पछि आफ्नै पालिकाले विज्ञापन खोल्यो । २ जना करारमा । अब यता लोकसेवा विज्ञापन नखोलेको बेला जुन ठाउमा भएपनी जागिर खानु मेरा लागि ठूलो कुरा थियो । म फर्म भर्न काठमाडौं बाट घर गए । बाले पनि आइजा नाम निकाल्यो भने घर तिरै जागिर खान पाउनु राम्रै हो भनी बोलाए । म आए । सर्टलिष्ट भयो । २ जनाका लागि ११ जनाको आबेदन पर्यो । परीक्षा भयो । परिक्षामा प्रश्न पत्र हेर्छु सजिलै लाग्यो । सबै प्रश्नको उत्तर समय भन्दा पाँच मिनेट अगाडि नै सके । पास भए अन्तरबार्ता पनि दिए । अन्तिम नतिजा आयो । फेरि पनि बैकल्पिक २ नम्बरमा ।
‘पास हुने मा मेरो साथी मिलन रैछ । मिलन भर्खर अस्ति बल्ल बल्ल ‘एचए ‘ पास गरियो यार साथी भनेर भन्थ्यो । आज जागिर खाइसक्यो । साथी तलाई बधाई छ । तर साथीको क्षमता कत्तिको छ भन्ने कुरा मलाइ राम्रोसंग थाहा छ ।’
कलेजमा परीक्षा पनि नदिएर यीनै नेताको गुणगान गाउनाले जागिर पायौ । म दिन रात नभनी बा आमा को सपना र घर को ऋण तिर्छु भनि पढेको मैले के पाए ?
साथी अब मलाई पनि सिकाइदेउ चाकडिबाद र झोले बन्न । मलाइ पनि सिकाइदेउ पाटी को झुन्ड कार्यकता बन्न । मेरो मेहेनत मेरो संघर्ष र लगाब ले बाटो पाएन । पालिका त झन राजनीति कार्यकता भर्ती केन्द्र रहेछ । भर्ती गर तिम्रा सेना हरु । खल्तिका मान्छेहरु । त्यसरी राख्नुनै थियो भने किन बिज्ञापन खोलेको नाटक गरेको ?
अहिले रात दिन पिरोल्दै छ मेरा बाले पढाउन आमाले बचत गर्ने महिला समूहबाट निकालेको एक लाख ऋण ब्याज सहित २ लाख पुगिसकेछ, कसरी तिरम? सिमल खेत एक लाखमा मातमा लाएका फुकाउनै छ कसरी फुकाउ ? नरे काकाबाट २ लाख लगेका कसरी तिरम ? पढाउदा बेचेका बीस बाख्रा र भैंसी कसरी फिर्ता गरम ? भाइ बहिनी लाई कसरी पढाउ ? म के गरु ?
ल भन्नुहोस भर्ति केन्द्रका मालिकहरु के मैले मेहेनत गरि पढ्नु गल्ती थियो ? के मैले सपना देख्नु गल्ती थियो ? के मैले आफ्नै पालिकामा जागिरको आबेदन दिनु गल्ती थियो ? के मेरो CV मा तिम्रो कार्यकर्ताको अनुभव नपुगेकै हो त ?
भन्नुहोस अब म आत्मदाह गरि मरेको प्रेम आचार्य बनम कि तिम्रो कार्यकता ?
उहीँ तिम्रो प्रतिक्षा सूचीवाला !


विश्व खबर 




















