काठमाडौं । नेकपा एमालेको नेपाल- खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति आत्मालोचना गरे मात्रै सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ । साथै सो समूहले संसद विघटनविरुद्धको संघर्षलाई जारी राख्ने भएको छ ।
बिहीबार खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल भेलामा सहभागी अधिकांश नेताहरुले ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको ठहर गर्दै उनीसँगको सहकार्य लगभग अन्त्य भएको धारण राखेका थिए ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल–खनाल पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा वार्ता टोलीका सदस्यहरूले वार्ताका विषयमा जानकारी गराएका थिए ।
बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीको अवस्थाबारे जानकारी गराएका थिए ।
ओली एकपछि अर्को गर्दै प्रतिगमनतिरै जानुभएको छ । त्यसैले उहाँले आत्मालोचना गरेर जेठ २ को पार्टी कमिटी क्रियाशील गर्न प्रतिबद्धता जनाए मात्रै सहकार्य सम्भव छ भन्ने नै निष्कर्ष निस्कियो’, सो समूहका नेता युवराज ज्ञवालीले भने, ‘यदि ओली त्यसो गर्न तयार हुँदैनन् भने नयाँ पार्टी पुनर्गठन गर्नुको विकल्प छैन भन्नेमा नेताहरु एकमत हुनुभयो ।
त्यस्तै उनले त्यसका लागि धेरै समय कुर्न नसकिनेमा समेत नेताहरु पुगेको बताए । ‘अब धेरै समय कुर्न सकिँदैन । तत्काल ओली त्यस्तो प्रतिबद्धता जनाउन तयार भए हामी एकताबाट पछि हट्दैनौ’ बैठकमा सहभागीहरुले राखेको धारणा र निष्कर्षका रुपमा नेता माधव नेपालले गरेको सम्बोधनलाई उदृत गर्दै ज्ञवालीले रातोपाटीलाई भने, ‘त्यो नभए क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने र सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हिसाबले अघि बढ्नुपर्छ ।’
भेलामा सहभागी नेताहरुले संसद विघटन प्रतिगमन भएको भन्दै ओलीले संविधान र लोकतन्त्रमाथि बारम्बार प्रहार गरेर मुलुकलाई उल्टो दिशातर्फ फर्काउन खोजिएकाले उनीसँगको सहकार्यबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका थिए ।
बैठकमा ओेली समूहका नेताहरुसँग अनौपचारिक वार्ता गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले नेता नेपालसँग सल्लाह गरेर नै अनौपचारिक वार्ता गरेको ब्रिफिङ गरेका थिए । चार नेताको ब्रिफिङ सुनेपछि नेता नेपालले अनौपचारिक कुराकानीलाई अन्यथा मान्न नहुने बताएका थिए । तर वार्ता समितिको संयोजकलाई नै कारवाही गरेकाले यो वार्तालाई औपचारिक भन्न नमिल्ने बताएका थिए ।
अनौपचारिक वार्ता गर्न पाइन्छ । हामी एकताकै पक्षमा छौं तर अब वार्ताका नाममा धेरै पर्खन भने सकिँदैन’, नेता नेपालले छलफलको अन्तिममा भनेका थिए । त्यस्तै उनले आफ्नो तयारी पनि गर्दै जानुपर्ने भएकाले सोही अनुसार तयार हुन नेताहरुलाई निर्देशन दिएका थिए ।
ओली पक्षले पार्टीबाट कारवाहीमा परिसकेका अनधिकृत व्यक्तिले आयोजना गरेको बैठकमा सामेल नहुन पार्टी केन्द्रीय सदस्यलाई दिएको निर्देशनका बाबजुद नेपाल पक्षले बैठक गरेको हो।
यता, ओलीले बिहीबार दिउँसो ४ बजे निर्धारण गरेको स्थायी कमिटी बैठक पुनःस्थगित गरेका छन्।
बुधबार पनि उनले अन्तिम समयमा आएर स्थायी कमिटी बैठक स्थगन गरेका थिए। ओली निकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्षको कार्यव्यस्तता र पार्टी कै पनि केही आन्तरिक तयारी नपुगेका कारण बैठक स्थगन भएको बताए।
पछिल्लो पटक आफ्ना निर्णयका कारण ओली सर्वत्र आलोचित बनेका छन्। यस्तो अवस्थामा ओलीले पार्टी एकताकै आशामा बैठक पर धकलिरहेको उनी निकट अर्का एक स्थायी कमिटी सदस्यले बताए।
उनले भने, ‘अध्यक्ष ओलीले नेपाल पक्षका सबै नेतालाई कारबाही गर्न चाहनुभएको छैन। पार्टी एकता होस् भन्ने चाहना उहाँको पनि छ।
विपक्षीलाई सहयोग गरेको आरोपमा ओलीले नेपालसहित ११ जनालाई यही जेठ १० गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए। त्यसको भोलिपल्ट नेपाल पक्षकै थप १२ जनालाई स्पष्टीकरण सोधेका थिए।
उनीहरूलाई पनि निकालेमा एकता प्रयास निष्क्रिय हुने चेतावनी भित्रैबाट आएपछि ओली निर्णय लिन हच्किएको बुझिन्छ।उनीहरूलाई पनि ओलीले पार्टीबाट निकाल्ने तयारी गरेको अनुमान तीव्र भइरहेका बेला त्यो निर्णयबाट ओली हच्किएका छन्।
फागुन २३ को सर्वोच्च अदालतको फैसलबाट ब्युँतिएको नेकपा एमालेमा आफूपक्षीय पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने नेपाल पक्ष दृढ छ।अर्थात् नेपाल पक्षले नेकपा गठन हुनु अघिल्लो दिन ९२ जेठ २०७५० मा एमालेलाई फर्काउनुपर्ने अडान लिएको हो।
तर, ओलीले भने विपक्षलाई साथ दिएको र सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको रिट फिर्ता गर्दै सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने अडान लिएका छन्।


विश्व खबर 



















