काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।
नेपाल–खनाल समूहका १७ वटा जनसंगठनले बिहीबार बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै २०७७ फागुन २८ गतेको गुटभेलाबाट मनपरी तरिकाले गरिएका अवैध निर्णय सच्याउन माग गरेका हुन्। उनीहरूलेआफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताएका छन् ।तर, अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै उनीहरूले ती सबै खारेजयोग्य रहेको दावी गरेका छन् ।
उनीहरुले पार्टी, जनसंगठन तथा पेशागत संगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिमा क्रियाशिल बनाउन माग गरेका छन्। यदी त्यसो नभएको खण्डमा पार्टी र आन्दोलन विसर्जनको बाटोमा जाने उनीहरुको ठहर छ।
‘हामी चहान्छौँ, नेकपा (एमाले)कै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस्। यसको निम्ति पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस्। यदि त्यसो नगरिए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्छ। यदि त्यस्तो अवस्था आए हामी त्यसो हुन दिने छैनौँ। जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ।
ओलीका असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो बलिदानीबाट स्थापित लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको नेपाल–खनाल पक्षीय जनसंगठनहरुको आरोप छ।





विश्व खबर 




















