• भाैतिक पूर्वाधारमा २८ वर्षदेखिको जनशक्ति र संगठनात्मक ढाँचा परिवर्तन गर्ने यातायात मन्त्री नेम्वाङकाे घाेषणा

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले २०५० सालमा सडक विभागको नेतृत्वमा देशमा करिब ५ हजार किलोमिटर सडक बनेको र हालको अवस्थामा १५ हजार किलोमिटर सडक बने पनि जनशक्ति भने उस्तै रहेको बताएका छन् ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत २८ वर्षमा केही संख्यामा भएको कर्मचारी बृद्दि विकास निर्माण कार्यका लागि पर्याप्त नरहेको बताएका हुन् । साथै, उनले अब मन्त्रालय र यसअन्तर्गतका कार्यालयहरुमा कर्मचारी थप गर्ने संकेत समेत दिएका छन् । मन्त्रिपरिषद्को स्वीकृतिमा यसको व्यवस्थापनमा आफू लागिसकेको उनले बताए ।

    ‘बजेट जतिसुकै राम्रो भए पनि त्यसको कार्यान्वयन गर्ने सवाल मन्त्रालय, कर्मचारीको दक्षता, क्षमतामा भर पर्ने कुरा हामीले अनुभव गरिसकेका छौँ । विगतका वर्षहरुमा दक्ष जनशक्तिको अभाव, त्यसलाई व्यवस्थित गर्ने कार्यालयहरुको अभावका कारण सोचेजस्तो प्रगति हासिल हुन सकेन’ मन्त्री नेम्वाङले भने, ‘२०५० सालको जनशक्ति, संगठनको स्वरुपलाई हेर्ने हो भने २८ वर्षमा खासै परिवर्तन भएको देखिएन । यस्तो अवस्थामा कसरी योजनाहरु कार्यान्वयन हुन सक्छन् ?


    साथै, उनले आगामी आर्थिक वर्षमा आफू अन्तर्गतको मन्त्रालयमा रहेको बजेट कार्यान्वयन गर्नका लागि विगतका यस्ता कुराबाट पाठ सिकेर अघि बढिसकेको जानकारी दिए । भने, ‘अब यो समस्या आउँदैन । जनशक्ति व्यवस्थापन र हामी अन्तर्गतका कार्यालयहरुलाई सक्रिय र चलायमान बनाउने काममा हामी लागिसकेका छौँ ।’

    आगामी आर्थिक वर्षका लागि मन्त्रालयसँग १ खर्ब ६२ अर्ब बजेट हुने बताउँदै बजेट कार्यान्वयनमा लैजाँदै आयोजनाहरु सूचारु गर्ने काम अघि बढिसकेको उनले बताए । आगामी आर्थिक वर्षका राष्ट्रिय महत्व र राष्ट्रिय गौरवका ३२ आयोजनाहरुको कार्य योजनासमेत बनाइसकेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्