images
images
  • बालुवाटार बैठक: जसपाको ठाकुर पक्ष सरकारमा जाने निश्चित,८ मन्त्री र २ राज्यमन्त्रीमा दाबी


    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ ।

    सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष ठाकुर र दलका नेता राजेन्द्र महतोबीचको छलफलमा जसपा सरकारमा सहभागी हुने सहमित बनेको हो ।राजनीतिक तरलताका कारण ओली नेतृत्वको सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान तयार भएका हुन् ।

    प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो मागका साथै सरकारमा जाने बिषयमा पनि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग अहिलेसम्म हाम्रो माग कति सम्बोधन भए, कहिलेसम्म बाँकी सम्बोधन हुन्छन् भन्ने बिषयमा आज छलफल भएको छ’ उनले भने ।

    सरकारमा प्रधानमन्त्री ओलीले पहिलेदेखि समावेश हुनका लागि आग्रह गरेको भएपनि अब जाने पक्का भएको उनको भनाइ छ । उनले ‍भने, ‘अहिले ८ मन्त्री र २ राज्यमन्त्री लिएर जाने बिषयमा सहमति भएको छ । अध्यक्षज्यूले सार्वजनिक रुपमा टेलिभिजनको अन्तरवार्तामा समेत बताइसक्नुभएको छ ।’

    सरकारमा पार्टीको तर्फबाट को को जाने भन्नेबारेमा टुंगो नलागेको उनी बताउँछन् । ‘सरकारमा जाने भएपछि बैठक बसेर कोको जाने भन्ने टुंगो लगाउँछौँ’ । उनले भने, ‘पार्टीमा छलफल गर्दा दुई चार दिन लाग्नसक्छ ।’

    अध्यक्ष ठाकुर समूहले संसदीय दलको नेता चयन गरेका महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार नेता महतोसहित शरतसिंह भण्डारी, अनिल झालगायतको मन्त्री बन्ने चर्चा छ । अर्का अध्यक्ष उपेन्द्र यादव समूह छाडेर आएका सबै सांसदलाई मन्त्री बनाउनुपर्ने बिषयमा पनि छलफल भइरहेको बुझिएको छ ।

    संसदीय दलमा बहुमत रहेको अध्यक्ष ठाकुर समूह कार्यकारिणी समितिमा अल्पमतमा छ । ठाकुर पक्षको सरकार प्रवेश नै पार्टी विभाजनको बिन्दु हुने आंकलन गर्न थालिएको छ ।

    अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भए स्वतः पार्टी सदस्यतासमेत नरहने गरी निलम्बन हुने निर्णय यसअघि नै गरिसकेको छ ।

    ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन् । प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण शुरू भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images