काठमाडौं- देशका अधिकांश भूभागमा आज वर्षाको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेखका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ ।
यस्तै, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा आसपास भइ बहने नदी र खोलामा पनि बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो ।
वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
शनिबार प्रदेश १, मधेस प्रदेशको तराई भू–भाग र बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान महाशाखाको छ । यस्तै, आइतबार प्रदेश १ को पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरूमा बाढी आउने पूर्वानुमान छ ।
अबको ३ दिनसम्म बाढी पहिरोको जोखिम रहेको महाशाखाको अनुमान छ ।


विश्व खबर 


















