काठमाडौं – जापानको टोकियोमा बिहीबारदेखि चार दिने ‘जापान टुरिजम एक्सपो २०२६’ सुरु भएको छ । टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ पर्यटन व्यवसायी कम्पनी तथा होटल सहभागी भएका छन् ।
‘भ्रमणको बदलिँदो स्वरुप’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्सपोको १२औँ संस्करण जापान ट्राभल एन्ड टुरिजम एसोसिएसन, जापान एसोसिएसन अफ ट्राभल एजेन्ट्स र जापान नेसनल टुरिजम अर्गनाइजेसनको संयुक्त आयोजनामा भइरहेको हो । उद्घाटन समारोहमा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी थिइन् ।
यस वर्षको एक्सपोमा नेपालसहित ७४ देश र जापानका ४६ प्रान्तबाट १ हजार ४२० कम्पनी तथा संस्थाका १ हजार ५५३ बुथ रहेका छन् ।
आयोजकले चार दिनमा करिब १ लाख ८० हजार पर्यटन व्यवसायी तथा पर्यटक सहभागी हुने अपेक्षा गरेको छ। अन्तर्राष्ट्रिय सहभागीका लागि ५९७ वटा स्टल छुट्याइएको छ ।
जापानी बजारमा नेपालको पर्यटन प्रवर्द्धन
जापानी पर्यटकका लागि नेपालको हिमाली क्षेत्र, लुम्बिनी, सांस्कृतिक सम्पदा, पदयात्रा तथा जैविक विविधता प्रमुख आकर्षणका रूपमा रहेका छन्। यही बजारलाई लक्षित गर्दै नेपाली पर्यटन व्यवसायीले जापानी ट्राभल एजेन्सी, व्यवसायी तथा उपभोक्तामाझ नेपालका पर्यटन उत्पादन र सेवाको प्रत्यक्ष प्रवर्द्धन गरिरहेका छन् ।
एक्सपोको पहिलो दुई दिन अर्थात् सेप्टेम्बर २४ र २५ मा व्यावसायिक सहकार्यका लागि पूर्वनिर्धारित ६ हजार ४५४ वटा बीटुबी बैठक हुँदैछन्। बैठकमा ८५५ क्रेता र १ हजार १९ विक्रेता सहभागी छन् । सेप्टेम्बर २६ र २७ मा सर्वसाधारणलाई लक्षित बीटुसी कार्यक्रम सञ्चालन हुनेछ ।
भोटेकोशी बाढीपछि पर्यटन अवस्था स्पष्ट पारिँदै
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप गैरेका अनुसार नेपाली पर्यटन कम्पनीले एक्सपोको पहिलो दिनदेखि नै जापानी ट्राभल एजेन्सी तथा व्यवसायीसँग व्यावसायिक भेटवार्ता गरिरहेका छन् ।
भेटवार्तामा जापानी बजारका लागि पर्यटन प्याकेज, पदयात्रा तथा अन्य पर्यटकीय सेवाका साथै हालैको भोटेकोशी बाढीपछि नेपालको पर्यटन क्षेत्रको अवस्था, पर्यटकीय गन्तव्य र पदयात्रा मार्गको अवस्था तथा पर्यटक सुरक्षाबारे जानकारी दिइरहेको बोर्डले जनाएको छ ।
गैरेका अनुसार नेपालको वर्तमान पर्यटन अवस्था र प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित तथा सञ्चालनमा रहेको तथ्यगत जानकारी दिँदै जापानी बजारमा नेपालको पर्यटनप्रति विश्वास बढाउने प्रयास भइरहेको छ ।
नौ कम्पनीको सहभागिता
एक्सपोमा नेपाल पर्यटन बोर्डसँगै गोचाली टुर एन्ड ट्राभल्स, सुमेघ टुर्स एन्ड ट्राभल्स, हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्स्पेडिसन, लाङटाङ री ट्रेकिङ एन्ड एक्स्पेडिसन, घले ट्रेक्स एन्ड एक्स्पेडिसन, बुद्ध माया गार्डेन्स, रुपाकोट रिसोर्ट, छायाँदेवी कम्प्लेक्स ९अलोफ्ट काठमाडौँ ठमेल० र गोरखा इन्टरनेसनल ट्राभल्स सहभागी छन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत युवराज गुरुङले नेपाल–जापानबीचको लामो समयदेखिको पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ गर्न एक्सपो महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए ।
प्राकृतिक विपद्पछि पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको उपस्थिति निरन्तर कायम राख्नुपर्ने उल्लेख गर्दै उनले नेपाल पर्यटन सञ्चालनमा रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न यस्ता मञ्च उपयोगी हुने बताए ।
चारदिने एक्सपो अवधिभर नेपालको स्टलमा आउने जापानी तथा अन्तर्राष्ट्रिय आगन्तुकलाई श्रव्यदृश्य सामग्री, ब्रोसर तथा अन्य प्रवर्द्धनात्मक सामग्रीमार्फत नेपालका प्रमुख पर्यटकीय गन्तव्य, गतिविधि र सेवाबारे जानकारी दिइनेछ ।
साथै, बीटुबी र बीटुसी माध्यमबाट जापानी बजारमा नेपालको पर्यटन उत्पादनको प्रवर्द्धन तथा व्यावसायिक सम्पर्क विस्तारलाई प्राथमिकता दिइएको छ ।


विश्व खबर 

















