काठमाडौं- सितापाइला रामकोट क्षेत्रको एउटा प्लटिङमा जग्गाको मूल्य प्रतिआना १७ लाख रूपैयाँ तोकिएको छ । केही समयअघि त्यही ठाउँमा प्रतिआना २० देखि २५ लाख रूपैयाँसम्ममा जग्गा कारोबार भइरहेको थियो ।
ललितपुर ठेंचोमा पनि प्रतिआना १७ लाख रूपैँयामै जग्गा किन्न पाइन्छ । केही समयअघिसम्म उक्त क्षेत्रमा जग्गाको मूल्य २२ देखि २५ लाख रूपैँया थियो ।
भक्तपुर चागुनारायण क्षेत्रमा पनि जग्गाको मूल्य प्रतिआना १२ देखि १६ लाख रूपैयाँसम्ममा झरेको छ । केही समयअघिसम्म त्यहाँ पनि प्रतिआना २० लाख रूपैयाँ घटीमा जग्गा पाइँदैनथ्यो ।
अहिले उपत्यकामा जग्गाको मूल्य तीव्र गतिमा घटिरहेको छ । केही समयअघिसम्म कुना काप्चाको जग्गा पनि प्रतिआना २५ लाख रूपैँयासम्ममा किनबेच हुने गरेकोमा अहिले भने चक्रपथबाट २र३ किलोमिटर मात्रै बाहिर पनि प्रतिआना १७ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको छ ।
तर, यसरी मूल्य घटेर विक्रीमा राखिएका जग्गा आर्थिक समस्या भएका जग्गाधनीका मात्रै हुन् । ‘जसलाई आर्थिकरूपमा कुनै समस्या छैन, उनीहरूलाई जग्गा बेच्नु नै छैन,’ मेघना रियल इस्टेटका सञ्चालक एमके राउतले भने, ‘जसलाई जग्गा बेच्नु छ, ऊ कुनै न कुनैरूपमा आर्थिक संकटबाट गुज्रिएको छ ।’
जग्गा बेचेर शेयर किन्दै व्यवसायी
शेयर बजार ३२०० अंक पुगेको बेला शेयर बेचेर जग्गा किनेका व्यवसायीहरू यतिबेला भने जग्गा बेचेर शेयर बजारमा फर्किरहेको पनि राउतले बताए ।
जग्गा होल्ड गरेर राख्दा मूल्य बढ्ने छाँट नदेखिएपछि २र४ लाख रूपैयाँ घटेरै भए पनि जग्गा बेच्नका लागि व्यावसायीहरू रियल इस्टेट कम्पनीमा आएको उनले बताए ।
त्यसरी जग्गा बेच्न आउनेहरू कोही आर्थिक संकटबाट गुज्रिएका छन् भने कोही शेयर बजारमा लगानी गर्न चाहनेहरू रहेको राउतको भनाइ छ ।


विश्व खबर 


















