images
images
  • हिमालयन हाइड्रोपावरको आईपीओ असार २८ गते बाँडफाँट हुने

    काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ प्रि–अलोटमेन्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले शुक्रवार प्रि–अलोटमेन्ट कार्य सम्पन्न गरेको हो । क्यापिटलले असार २८ गते उक्त आईपीओको अन्तिम बाँडफाँट गर्ने जानकारी दिएको छ ।

    कम्पनीले सर्वसाधारणका लागि कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।

    यी बाहेक सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरको बाँडफाँट असार २८ गते हुने भएको हो । कम्पनीले सर्वसाधारणमा असार १५ गतेदेखि असार १९ गतेसम्म सार्वजनिक निष्कासनमार्फत आईपीओ विक्री गरेको थियो ।

    यस कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् । यी मध्य थप दुई जनाले एक एक कित्ताका दरले शेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।

    कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ९८ करोड र जारीपूँजी रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । हाल कम्पनीको संस्थापकतर्फ चुक्ताभएको पूँजी रू. ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।

    सर्वसाधारण तर्फको आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशत शेयर हिस्सा रहने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images